छिमेकीको दुःखमा धादिङ एमालेको मलम : विद्यालयदेखि निजी घरसम्मको सरसफाइमा जुटे सयौँ स्वयंसेवक

धादिङ, २३ भदौ । रसुवाको भोटेकोशी बाढीले धादिङका तटीय क्षेत्रमा पुर्‍याएको क्षतिको पुनरुत्थानका लागि नेकपा (एमाले) का स्थानीय कमिटीहरू सक्रिय रूपमा परिचालन भएका छन् । ‘छिमेकीको दुःखको साथी’ बन्ने उद्देश्यका साथ धुनिवेशी, थाक्रे, सिद्धलेक र बेनीघाट रोराङका पार्टी कमिटीहरूले प्रभावित क्षेत्रमा श्रमदान र सरसफाइ अभियान चलाएका हुन् ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटीका उपसचिव एवं धादिङ–चितवन बाढीपीडित राहत तथा उद्धार सहयोग समितिका संयोजक रमेश आचार्यका अनुसार विभिन्न पालिकाका सयौँ स्वयंसेवकहरू यतिबेला फिल्डमा खटिएका छन् ।

भदौ २० गते धुनिवेशी नगर कमिटीका नेता दिनेश बाँस्कोटाको अगुवाइमा २० जना स्वयंसेवकले गल्छी–६, बैरेनीस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयमा थुप्रिएको लेदो र भग्नावशेष पन्छाएर सरसफाइ गरेका छन् । त्यसैगरी, थाक्रे गाउँपालिका कमिटीका अध्यक्ष गणेशमान वाइवाको नेतृत्वमा ८१ जनाको विशाल स्वयंसेवक टोलीले गल्छी–६ को महेश दोभान र बैरेनी बजार क्षेत्रका ८ वटा निजी घरहरू सफा गरी बस्न योग्य बनाएको संयोजक आचार्यले जानकारी दिनुभयो ।

सिद्धलेक गाउँपालिका कमिटीका अध्यक्ष रामहरि बराकोटीको नेतृत्वमा ५० जना स्वयंसेवकले भदौ २० र २१ गते दुई दिनसम्म गजुरी–५, गलौदी बजारमा श्रमदान गरेका छन् । उक्त टोलीले बाढीले पुरेका ६ वटा निजी घरको सरसफाइ गरेको छ । यसैबिच, भदौ २२ गते बेनीघाट रोराङ गाउँपालिका कमिटीका अध्यक्ष राजकुमार त्रिपाठीको अगुवाइमा १६ जना स्वयंसेवकले गलौदीकै थप २ वटा घरमा सरसफाइ गरी पीडित परिवारलाई राहत महसुस गराएका छन् ।

बाढीले वितण्डा मच्चाएको १० दिन बितिसक्दा पनि बस्तीहरूमा अझै लेदो र गेग्रान बाँकी रहेकाले एमालेले आफ्नो भोलिन्टियर फोर्सलाई पुनर्निर्माण र सरसफाइमा केन्द्रित गरेको हो । राजनीतिक दलका स्थानीय कार्यकर्ताहरू नै कुटो-कोदालो र साबेल लिएर पीडितको घरदैलोमा पुगेपछि स्थानीय बासिन्दाले केही राहत महसुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *