भोटेकोशी बाढी : मृतकको पहिचानका लागि ‘डिएनए’ परीक्षणमा तीव्रता
काठमाडौँ, भदौ २५ । भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकको शव पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना संकलन तथा परीक्षण प्रक्रियालाई तीव्र बनाएको छ । शव पहिचानमा हुन सक्ने त्रुटि न्यूनीकरण गरी सत्यतथ्य जानकारी पत्ता लगाउन प्रहरीले आधुनिक ‘फोरेन्सिक’ प्रविधि (डिएनए प्रोफाइलिङ) मार्फत वैज्ञानिक अनुसन्धान अघि बढाएको हो ।
काठमाडौँको सामाखुसीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले बाढी प्रभावित क्षेत्रबाट प्राप्त मृतकका अवशेष र आफन्तबाट संकलित नमुनाहरूको सूक्ष्म परीक्षण गरिरहेको छ। नमुना संकलन, सुरक्षित भण्डारणदेखि परीक्षणसम्मका सम्पूर्ण प्रक्रियामा अन्तर्राष्ट्रिय वैज्ञानिक मापदण्ड पालना गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले विपद्पछिको खोज र उद्धारसँगै मृतकको पहिचान सुनिश्चित गर्ने कार्यलाई प्रहरीले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालले संकलित नमुनाहरूको परीक्षणका लागि प्राविधिक टोली अहोरात्र खटिएको जानकारी दिनुभयो ।
कुल संकलित नमुना : २,६७८ (मृतकका १,२८६ र आफन्तका १,४१२)
प्रमाणिकरणका लागि प्राप्त नमुना : १,२४० (रगतका नमुना ८०८, मृतकका दाँत तथा हड्डी ३४८ र औँलाछाप ८४)
जिल्लागत संकलन: हालसम्म २६ जिल्लाबाट नमुना प्राप्त भएका छन् । जसमा चितवनबाट ३५४, नवलपरासी पश्चिमबाट २१३, नुवाकोटबाट २०७, नवलपरासी पूर्वबाट १९९ र रसुवाबाट १३४ नमुना संकलन गरिएका छन् । यसैगरी धादिङ, तनहुँ र गोरखाबाट पनि उल्लेख्य संख्यामा नमुना प्राप्त भएका छन् ।
नेपाल प्रहरी अस्पतालमा मात्र हालसम्म ९९० जना मृतकका आफन्तको नमुना संकलन गरिएको छ । डिएनए प्रोफाइलिङलाई व्यक्तिको पहिचान पुष्टि गर्ने र जैविक सम्बन्ध स्थापित गर्ने सबैभन्दा भरपर्दो विधिको रूपमा लिइन्छ । बाढीमा हराइरहेका तथा सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजी र पहिचानका लागि यो विधि प्रभावकारी हुने विश्वास गरिएको छ ।
यस प्रक्रियालाई पारदर्शी र त्रुटिरहित बनाउन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विशेष निर्देशन दिनुका साथै प्रत्यक्ष निगरानी गरिरहनुभएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीका अनुसार वैज्ञानिक विधि र मापदण्डअनुसार नमुना संकलन र परीक्षण कार्यलाई व्यवस्थित रूपमा अगाडि बढाइएको छ ।