अपर म्याग्दी १ जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा महत्त्वपूर्ण सफलता : मुख्य सुरुङ ‘ब्रेक थ्रु’
काठमाडौँ, भदौ २५ । म्याग्दी जिल्लामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाले निर्माण कार्यमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । आयोजनाको अडिटदेखि विद्युत गृह (पावर हाउस) तर्फको मुख्य सुरुङको बुधबार सफलतापूर्वक ‘ब्रेक थ्रु’ (छेड्ने काम) सम्पन्न भएको छ ।
म्याग्दी हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित यस आयोजनाको धवलागिरि गाउँपालिका ४, छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका ७, भारवाङमा निर्माणाधीन विद्युत गृह जोड्ने २,५०६.३९ मिटर लामो सुरुङ मार्ग जोडिएको हो ।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार अडिटदेखि बाँधस्थलतर्फको सुरुङ निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ । छहरीदेखि खाम्लास्थित बाँधतर्फको कुल ३,२८३.३२ मिटर सुरुङमध्ये हालसम्म १,९७३ मिटर निर्माण सम्पन्न भइसकेको छ । बाँकी रहेको खण्डलाई आगामी केही महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत पुगेको छ । सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले २०८१ भदौदेखि मुख्य सुरुङको काम थालेकोमा एक वर्षको अवधिमा यो सफलता मिलेको हो । आयोजना प्रमुख केसीले आगामी एक वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
पूर्वाधार चुनौतीका बाबजुद काम तीव्र
आयोजनाले बाँध, सुरुङ र विद्युत गृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फका कामलाई पनि प्राथमिकताका साथ अघि बढाएको छ । यद्यपि, बर्खायाममा बेनी-दरबाङ सडकको फापरखेतमा जाने पहिरो, दुखुखोला र शिवरात्रिखोलाका पक्की पुल निर्माणमा भएको ढिलाइले ढुवानीमा केही समस्या उत्पन्न गरेको आयोजनाले उल्लेख गरेको छ ।
लगानी र प्रसारण संरचना
करिब ११ अर्ब २३ करोड २७ लाख रुपैयाँको कुल लगानीमा निर्माण भइरहेको यस आयोजनामा सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकले ऋण लगानी गरेका छन् । बाँकी रकम प्रवद्र्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइनेछ ।
आयोजनाबाट उत्पादित विद्युत् भारवाङदेखि १.५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको डाँडाखेत सब-स्टेशनमा जोडिनेछ । ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
ऊर्जा डेभलपर्स प्रालि अन्तर्गतको यस आयोजनाको परामर्शदाताका रूपमा ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्रालि रहेको छ भने मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।