बागलुङमा उमेर नपुग्दै आमा बन्ने किशोरीको संख्या उच्च, स्वास्थ्य जोखिम बढ्दो
बागलुङ, २६ भदौ । बागलुङमा उमेर नपुग्दै आमा बन्नेको संख्या उल्लेख्य रहेको पाइएको छ। जिल्लामा २० वर्ष उमेर नपुग्दै आमा बनेकाको संख्या ३६२ पुगेको स्थानीय स्वास्थ्य संस्थाहरूले जनाएका छन्। सचेतनाको अभावमा जिल्लाका दुर्गम क्षेत्रमा कानुनले निषेध गरेको बालविवाह अझै जारी रहेको यसैले पुष्टि गरेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर ३६२ किशोरी आमा बनेका थिए, जसले बागलुङका विभिन्न स्वास्थ्य संस्थामै पुगेर बच्चा जन्माएका हुन्। यसैगरी २० वर्षभन्दा कम उमेर समूहका ३८८ किशोरीले पहिलोपटक गर्भजाँच गराएको तथ्यांक छ।
“उमेर नपुग्दै विवाह गर्न पाइँदैन, तर यहाँ २० वर्ष नपुग्दै आमा बनेका किशोरीको संख्या उच्च छ,” शर्माले भने, “शरीर परिपक्व नहुँदै आमा बन्दा विभिन्न जटिल स्वास्थ्य समस्या देखिने, मातृशिशु मृत्युदर बढ्ने र दीर्घकालीन रूपमा आमामै स्वास्थ्य समस्या आउने जोखिम रहन्छ।”
आव २०८१/८२ मा २० वर्षभन्दा कम उमेरका ३०८ किशोरी र आव २०८०/८१ मा ३६० किशोरी आमा बनेको विवरण रहेको छ।
विश्व स्वास्थ्य संगठनले गर्भवती भएदेखि सुत्केरी हुने समयसम्म आपत्कालीनबाहेक नियमित रूपमा आठपटक गर्भजाँच गर्नुपर्ने सुझाव दिए पनि बागलुङमा भने गर्भ पहिचान भएपछि सुत्केरी हुनेसम्म नियमित जाँच गराउने किशोरीको संख्या न्यून रहेको छ। पहिलो गर्भजाँच गराउनेको तुलनामा दोस्रो गर्भजाँच गराउनेको संख्या क्रमशः घट्दै गएकाले थप सचेतनाको खाँचो देखिएको छ।
कानुनले निषेध गरेको बालविवाह रोक्न बागलुङका सबै १० स्थानीय तहमा सचेतनामूलक कार्यक्रम भइरहे पनि ती प्रभावकारी देखिएका छैनन्। एकीकृत सेवा कार्यालयले गाउँगाउँ पुगेर बालविवाहलगायतका विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीका अनुसार बालविवाहबारे आम जानकारी अझै पुग्न सकेको छैन। स्वास्थ्य सूचकांकमा सुधार आए पनि अशिक्षा र चेतनाको अभावमा दूरदराजका महिला अझै गोठमै सुत्केरी हुने गरेको उनको अनुभव छ।
कमजोर आर्थिक अवस्था, सचेतनाको कमी तथा सामाजिक र पारिवारिक दबाबका कारण बागलुङका गाउँगाउँमा किशोरावस्थामै विवाह हुने क्रम जारी छ। बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र गलकोट नगरपालिका पहिल्यै बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेका छन् भने बडिगाड गाउँपालिका पोषणमैत्री पालिका घोषित भइसकेको छ। अन्य स्थानीय तह भने यही प्रक्रियामा छन्।
तर विडम्बना, बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेकै स्थानीय तहमा समेत किशोरीहरू धमाधम आमा बनिरहेका छन्। शून्य बालविवाह भएको दाबीसहित बालमैत्री घोषणा गरिएका स्थानीय तहमा समेत उमेर नपुग्दै सुत्केरी हुने घटना पाइएको छ। धवलागिरि प्रादेशिक अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. विजय ओझाका अनुसार कम उमेर समूहका गर्भवतीमा पोषण नपुग्ने, सामान्य प्रसव हुन नसक्ने, लामो प्रसववेदना हुने र रक्तस्राव हुनेजस्ता समस्या देखिने गरेको छ।