धनकुटाको निसान मन्दिरमा ५०० घण्टीबाट निर्मित ‘महाघण्टी’ पर्यटकको आकर्षण बन्दै
काठमाडौँ, भदौ २७ । धनकुटाको ऐतिहासिक निसान मन्दिर परिसरमा साना घण्टीहरूलाई जोडेर बनाइएको एक विशाल ‘महाघण्टी’ यतिबेला धार्मिक पर्यटक तथा आगन्तुकका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ । मन्दिर दर्शनका लागि पुग्ने भक्तजन मात्र नभई धनकुटा भ्रमणमा आउने अधिकांश पर्यटकहरू यस महाघण्टीसँग तस्बिर खिचेर फर्कने गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अनुसार करिब ५०० भन्दा बढी साना घण्टीहरूलाई एउटै संरचनामा एकीकृत गरी बनाइएको यस महाघण्टीको तौल १५० किलोग्रामभन्दा बढी छ । मन्दिर पुनर्निर्माणका क्रममा वि.सं. २०७७ सालमा यसको निर्माण गरिएको हो । मन्दिर परिसरमा संकलन भएका साना घण्टीहरूको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि ऐतिहासिक महत्त्वका पुराना घण्टीहरूलाई संरक्षण गर्ने उद्देश्यले यो अवधारणा अगाडि सारिएको थियो ।
निसान मन्दिर व्यवस्थापन समितिका सचिव जनार्दन घिमिरेका अनुसार यस महाघण्टीमा वि.सं. १९३१ भन्दा अघिका ऐतिहासिक घण्टीहरू समेत सङ्ग्रहित छन् । “सुरुमा घण्टीहरूको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता थियो, तर अहिले यो महाघण्टीले मन्दिरको सौन्दर्य र पहिचान दुवै बढाएको छ ।” घिमिरेले बताउनुभयो । उहाँका अनुसार यो संरचना अहिले मन्दिरको छुट्टै पहिचानका रूपमा स्थापित भएको छ ।
धनकुटाको निसान मन्दिरको इतिहास पूर्वी नेपालको प्रशासनिक तथा सैन्य विकाससँग जोडिएको छ । वि.सं. १८४१ मा पूर्वको प्रशासनिक कार्यका लागि प्रसादसिंह बस्नेत धनकुटा आएको समयमा यहाँ जङ्गी निसान स्थापना गरिएको इतिहास छ । ऐतिहासिक र धार्मिक आस्थाको धरोहर मानिने यस मन्दिरमा हालसम्म पनि नेपाली सेनाले दैनिक पूजाआजा गर्दै आएको छ भने मन्दिरमा सेनाकै पुजारी रहने विशेष व्यवस्था छ ।
पुराना ऐतिहासिक घण्टीहरूको संरक्षणसँगै निर्मित यस महाघण्टीले मन्दिरको धार्मिक गरिमालाई थप उचाइ प्रदान गरेको छ भने आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याएको छ ।
