सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
सर्लाही, भदौ ३१ । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
कबिलासी नगरपालिका-७ सिर्सियास्थित मलङ्गवा-नवलपुर सडकखण्डमा मधेस प्रदेश ०३-०३३प ७८२४ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बिआर३०एपी १२२४ नम्बरको भारतीय मोटरसाइकलसँग मङ्गलबार साँझ ठोक्किएको थियो। दुर्घटनामा ७८२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीको गोडैता नगरपालिका-६ का ३० वर्षीय सुमित यादव र १२२४ नम्बरको मोटरसाइकल चालक सर्लाहीकै कबिलासी-८ का २६ वर्षीय पप्पु पासवानको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो।
यसैबीच सोही घटनामा गम्भीर घाइते हुन पुगेका १२२४ नम्बरको मोटरसाइकलमा सवार कबिलासी नगरपालिका-८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका-६ का १८ वर्षीय बब्लुकुमार पासवानको अनुहार, टाउको र खुट्टामा चोट लागेको छ। दुवैलाई प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ।
तीव्र गतिका कारण दुवै मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीको भनाइ छ। प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।