प्राथमिकताका सेवाग्राहीलाई ‘ग्रिन टोकन’

काठमाडौँ, भदौ ३१ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले लाइनमा लामो समयसम्म बसेर सेवा लिन कठिन हुने सेवाग्राहीलाई लक्षित गर्दै ‘ग्रिन टोकन’ प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।

अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा अन्य प्राथमिकतामा राख्नुपर्ने सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालयले हरियो टोकनको व्यवस्था गरेको हो ।

कार्यालयका प्रशासकीय अधिकृत सुनिता थापाका अनुसार ग्रिन टोकन पाउने प्राथमिकताक्रममा ज्येष्ठ नागरिक, गर्भवती, अशक्त तथा अपाङ्गता भएका व्यक्ति र पाँच वर्षमुनिका बालबालिकाका आमा रहेका छन् । ग्रिन टोकन लिएका सेवाग्राहीले अन्य सेवाग्राहीजस्तो लामो समयसम्म लाइनमा बसेर सेवा कुर्नु नपर्ने उहाँले बताउनुभयो ।

सेवा सुरु भएको केही दिनमै प्रणाली प्रभावकारी देखिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो ।

“कार्यालयमा आएर ग्रिन टोकन लिएका नागरिकले अन्य सेवाग्राहीजस्तो लामो समयसम्म लाइनमा बस्नु पर्दैन,” उहाँले भन्नुभयो, “लाइनमा बसेर सेवा कुर्न नसक्ने व्यक्तिलाई लक्षित गरी यस्तो प्रणाली लागू गरेका हौँ । यो सेवा प्रभावकारी बन्दै गएको छ ।”

कार्यालयका अनुसार हाल दैनिकजसो ग्रिन टोकनमार्फत सेवा लिने सेवाग्राहीको सङ्ख्या बढिरहेको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाका लागि दैनिक करिब २० जना, नागरिकताको प्रतिलिपिका लागि करिब १० जना तथा अन्य सेवाका लागि करिब चार दर्जन सेवाग्राहीले ग्रिन टोकन लिने गरेका छन् ।

यसैबीच गृह मन्त्रालयले सोमबार स्थानीय प्रशासन कार्यालयहरूलाई प्रशासनिक सेवा प्रवाहलाई विचौलियामुक्त, छिटोछरितो, सरल र प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सेवा प्रवाहमा सहयोग तथा सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न जोसुकैलाई निगरानीमा राखी कानुनबमोजिम कारबाही गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

कार्यालयले प्राथमिकताका सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन थालेको ‘ग्रिन टोकन’ प्रणालीलाई सेवाग्राहीमैत्री प्रशासनतर्फको अभ्यासका रूपमा अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *