इरानसँगको युद्धमा अमेरिकालाई भारी क्षति: ३० भन्दा बढी MQ-9 ड्रोनसहित दर्जनौँ विमान र सयौँ सैन्य संरचना ध्वस्त — पेन्टागन प्रतिवेदन
इरानसँगको जारी युद्ध र सैन्य द्वन्द्वका क्रममा अमेरिकी सेनाले ठूलो मात्रामा हवाई साधन, सैन्य संरचना तथा कूटनीतिक नियोगहरूमा ठूलो क्षति व्यहोर्नुपरेको पेन्टागनको एक स्वतन्त्र अनुगमन निकाय (Watchdog) ले सार्वजनिक गरेको छ।
अमेरिकी रक्षा मन्त्रालय (Department of Defense) को इन्स्पेक्टर जनरलको कार्यालयले सार्वजनिक गरेको ५७ पृष्ठ लामो आधिकारिक प्रतिवेदनअनुसार फेब्रुअरी २८ देखि जुन ३० सम्मको अवधिमा अमेरिकी सेनाले ३० वटा अत्याधुनिक ‘MQ-9 Reaper’ ड्रोनसहित दर्जनौँ युद्धक विमान, हेलिकप्टर र ट्याङ्करहरू गुमाएको छ।
प्रतिवेदनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीविपरीत अमेरिकी सेनामा हतियार तथा गोलाबारुदको अभाव (Munition Shortage) हुन थालेको र आपूर्ति प्रणालीमा अवरोध (Supply Chain Bottlenecks) आएको स्वीकार गरेको छ। प्रतिवेदन अनुसार फेब्रुअरी २८ देखि जुन ३० सम्म सञ्चालन गरिएको ‘अपरेशन एपिक फ्युरी’ (Operation Epic Fury) का क्रममा २२ अर्ब डलर मूल्य बराबरको गोलाबारुद प्रयोग भएको छ भने यो अवधिमा युद्धको कूल खर्च ३३ अर्ब अमेरिकी डलर पुगेको छ।
हालसम्म व्यहोर्नुपरेको जनधन र भौतिक क्षति
१. मानवीय क्षति (सैन्य कर्मचारी): प्रतिवेदनअनुसार इरानी आक्रमण तथा गैर-आक्रमणजन्य दुर्घटनाहरूमा परी १८ जना अमेरिकी सैन्य कर्मचारीको मृत्यु भएको छ:
-
प्रत्यक्ष आक्रमणमा मृत्यु (११ जना): मार्च १ मा कुवेतको ‘सुएबा बन्दरगाह’मा ६ जना र साउदी अरबमा १ जना; जुलाई १७ मा जोर्डनको ‘अल अजराक’ बेसमा ३ जना; र जुलाई १९ मा इराकको ‘अर्बिल’ एयरबेसमा १ जनाको इरानी प्रहारबाट मृत्यु भएको हो।
-
दुर्घटनामा मृत्यु (७ जना): मार्च १२ मा इराकमा इन्धन भर्ने ‘KC-135’ विमान दुर्घटना हुँदा ६ जना र जुलाई १ मा अरब सागरमा ‘MH-60S’ हेलिकप्टर दुर्घटनामा १ जनाको मृत्यु भएको थियो।
-
घाइते: जुन ३० सम्ममा कम्तीमा ४१७ जना अमेरिकी सैन्यकर्मी इरानी आक्रमणमा घाइते भएका छन्।
२. हवाई साधन (विमान तथा ड्रोन) को क्षति:
-
MQ-9 Reaper Drones: अत्याधुनिक गुप्तचरी र निशाना प्रहार गर्ने क्षमता भएका ३० वटा MQ-9 रिपर ड्रोनहरू इरानी आक्रमणबाट ध्वस्त भएका छन्।
-
F-15E Fighter Jets: प्रतिविमान ३ करोड डलर पर्ने ४ वटा दुई-सिटे एफ-१५ई लडाकु विमान नष्ट भएका छन्। जसमध्ये ३ वटा मार्च १ मा कुवेतमा आफ्नै ‘फ्रेन्डली फायर’ (Friendly Fire) बाट र १ वटा अप्रिलमा इरानमाझ युद्धका क्रममा खसालिएको थियो।
-
F-35A Stealth Fighter: मार्चमा इरानी प्रहारबाट अमेरिकाको बहुमूल्य ‘स्टेल्थ’ लडाकु विमान एफ-३५ए मा क्षति पुगेको छ।
-
A-10 Thunderbolt: स्थलगत फौजलाई सहयोग पुर्याउने एउटा अत्यधिक बख्तरबन्द ए-१० विमान इरानी प्रहारबाट खसालिएको छ।
-
KC-135 Refueling Tankers: हावामै इन्धन भर्ने ७ वटा ठूला केसी-१३५ ट्याङ्कर नष्ट वा क्षतिग्रस्त भएका छन्। (१ वटा दुर्घटना र ५ वटा साउदी अरबको बेसमा इरानी मिसाइल/ड्रोन प्रहारबाट क्षति)।
-
MQ-4C Triton: करिब २४ करोड डलर पर्ने उच्च उचाइबाट सामुद्रिक गुप्तचरी गर्ने यो ड्रोन अप्रिलमा दुर्घटनाग्रस्त भएको थियो।
-
अन्य हेलिकप्टर र विमान: १ वटा E-3 Sentry (पूर्वसूचना दिने विमान), १ वटा HH-60W, ४ वटा AH-6, १ वटा AH-64 Apache र १ वटा MH-60S हेलिकप्टर ध्वस्त वा क्षतिग्रस्त भएका छन्।
३. खाडी क्षेत्रका अमेरिकी सैन्य बेसहरूमा क्षति: अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) का अनुसार कुवेत, बहराइन, कतार, युएई, साउदी अरब, इराक, ओमान र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडाका सयौँ भवन तथा संरचनाहरू इरानी आक्रमणबाट पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्।
साथै, स्थानीय बन्दरगाहहरूको प्रयोगमा प्रतिबन्ध र दूरदराजका टापु (जस्तै डिएगो गार्सिया) बाट सामान ओसारपसार गर्दा १४ देखि १८ दिनको समय लाग्ने भएकाले अमेरिकी सेनालाई इन्धन र रसद आपूर्तिमा ठूलो चुनौती खडा भएको छ।
४. कूटनीतिक नियोगहरू (दूतावास) मा क्षति: इरानी आक्रमणका कारण चारवटा देशमा रहेका अमेरिकी कूटनीतिक नियोगहरूमा करिब १८४ मिलियन (१८ करोड ४० लाख) अमेरिकी डलर बराबरको क्षति पुगेको छ:
-
इराक: बग्दादस्थित दूतावास, अर्बिलस्थित महावाणिज्य दूतावास र बग्दाद विमानस्थल नजिकैको सपोर्ट सेन्टरमा ६०० भन्दा बढी आक्रमण हुँदा १५७ मिलियन डलरको क्षति भएको छ।
-
कुवेत: मार्च ५ देखि दूतावास बन्द गर्नुपरेको र १४.७५ मिलियन डलरको क्षति भएको छ।
-
साउदी अरब: मार्च ३ मा रियाधस्थित अमेरिकी दूतावासमा दुईवटा इरानी ड्रोन ठोक्किँदा ११.५ मिलियन डलरको क्षति पुगेको छ।
-
युएई: दुबईस्थित महावाणिज्य दूतावासको भवनमा क्षति पुग्दा १ लाख २० हजार डलरको नोक्सानी भएको छ।
यसका साथै सुरक्षा जोखिम र यात्रा प्रतिबन्धका कारण बग्दाद, जेरुसेलम, तेल अविव, काहिरा, अम्मान, कुवेत सिटी र मस्कटमा सञ्चालित निर्माण आयोजनाहरू रोकिँदा अमेरिकालाई प्रतिमहिना २४.५ मिलियन डलर थप वित्तीय घाटा भइरहेको छ।
हाल अमेरिका र इरानबिच कूटनीतिक संवाद पूर्ण रूपमा ठप्प छ भने विश्वकै मुख्य इन्धन व्यापार मार्ग मानिने ‘स्ट्रेट अफ होर्मुज’ (Strait of Hormuz) अझै पनि पूर्ण रूपमा ठप्पप्रायः छ।