ट्रम्पसँग विवादपछि केनेडी सेन्टर बन्द गर्ने बोर्डको निर्णय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तनावपूर्ण फोन संवादपछि वासिङ्टनस्थित केनेडी सेन्टरको सञ्चालक समितिले केन्द्र बन्द गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको बोर्ड बैठकमा ट्रम्पले डेमोक्रेटिक सांसद तथा बोर्ड सदस्य जोइस बिट्टीसँग चर्को विवाद गरेका थिए। ट्रम्पको नाम केनेडी सेन्टरको भवनमा थप्ने प्रयासविरुद्ध बिट्टीले दायर गरेको मुद्दामा अदालतले सोही दिन ट्रम्पको नाम राख्ने योजना रोक्न आदेश दिएको थियो।
स्रोतका अनुसार फोन संवादका क्रममा ट्रम्पले अदालतमा मुद्दा दायर गरेको भन्दै बिट्टीमाथि आक्रोश पोखेका थिए। बिट्टीले भने ट्रम्पकै कारण केनेडी सेन्टर ठूलो ऋणमा परेको आरोप लगाएकी थिइन्।
पछि बिट्टीले सीएनएनसँग ट्रम्पले फोनमा विषयलाई व्यक्तिगत बनाउँदै आफूलाई ‘व्यक्तिगत रूपमा जिम्मेवार’ ठहराउने चेतावनी दिएको बताइन्।
अदालतले रोक्यो ट्रम्पको नाम राख्ने योजना
अमेरिकी जिल्ला अदालतका न्यायाधीश केसी कुपरले केनेडी सेन्टरमा ट्रम्पको नाम वा उनको सम्मानमा कुनै स्मारक राख्न संसद्को स्वीकृति आवश्यक पर्ने भन्दै बोर्डको योजना रोकिदिएका हुन्।
बोर्डले भवनको बाहिरी भागमा ‘Restored and Renovated by President Donald J. Trump’ लेख्ने तथा केन्द्रको परिसरको नाम परिवर्तन गर्ने प्रस्ताव अघि सारेको थियो।
अदालतको आदेशविरुद्ध केनेडी सेन्टरले मंगलबार नै डिस्ट्रिक्ट अफ कोलम्बिया सर्किट कोर्ट अफ अपिल्समा पुनरावेदन गरेको छ।
‘नाम नराखिए पुनर्निर्माण हुँदैन’
बोर्डले केन्द्र बन्द गर्ने निर्णय गरेपछि ट्रम्पले भवनमा आफ्नो नाम नराखिए पुनर्निर्माण तथा नवीकरणको काम अघि नबढ्ने संकेत दिएका छन्।
ट्रुथ सोसलमा ट्रम्पले अदालतको निर्णय आफ्नो पक्षमा नआए र सर्वोच्च अदालतले पनि त्यसलाई उल्ट्याउन नसके केनेडी सेन्टरको पुनर्निर्माण तथा नवीकरण नहुने बताएका छन्।
उनले केन्द्रलाई सञ्चालनमा राख्न आफूले जुटाएको १७ मिलियन डलर अर्थात् १ करोड ७० लाख डलर केन्द्रको खातामा जम्मा गरिएको दाबीसमेत गरेका छन्।
यसैबीच, ‘द ट्रम्प केनेडी सेन्टर फन्ड’ का लागि १० करोड डलर संकलन भएपछि थप सम्मानसूचक अभिलेख राख्ने बोर्डको प्रस्तावमा पनि अदालतले तत्काल निर्णय नगरेको जनाएको छ। उक्त कोषले हालसम्म रकम संकलन नगरेकाले निर्णय गर्नु ‘समयपूर्व’ हुने न्यायाधीश कुपरको भनाइ छ।
