पहिरोले घर पुरिँदा पाल्पामा तीन जना बेपत्ता, दुईको मृत्यु
पाल्पा, ११ असोज । पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा परी मृत्यु भएको हो।
पहिरोमा पुरिएका दुवै जनाको शव निकालिएको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको प्रहरीले जनाएको छ।
यसैगरी, माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा घर्तीमगरको परिवारका दुई जना र छिमेकीकी एक छोरी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिनुभयो।
बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
