स्याउ लटरम्म फल्यो, बजार नपाउँदा दार्चुलाका किसान चिन्तित
बजार र ढुवानीको समस्या
काठमाडौँ, असोज १२ । अपी हिमाल गाउँपालिका ३ पाथा र कसौतीका बगैँचामा यतिबेला स्याउ लटरम्म फलेका छन् । व्यावसायिक तथा परम्परागत रूपमा स्याउखेती गर्दै आएका किसानले यस वर्ष उत्पादन राम्रो भए पनि बजार र ढुवानीको समस्या झेल्नुपरेको छ ।
पाथा र कसौती गाउँका करिब ५० परिवारले स्याउखेती गर्दै आएका छन् । तीमध्ये १० देखि १२ परिवारले एक सयभन्दा बढी स्याउका बोट लगाएर व्यावसायिक रूपमा खेती गरेका छन् । कलमी, गाला र इटालियन फुजीलगायत उन्नत जातका स्याउ उत्पादन हुन थाले पनि बजारको पहुँच नहुँदा किसानले उत्पादन बिक्री गर्न नसकेका हुन् ।
पाथास्थित हिमालयन कृषि फार्मका सञ्चालक कपुरसिंह धामीका अनुसार उहाँको फार्ममा पाँच सयभन्दा बढी बोट छन् । यस वर्ष करिब १५ देखि २० क्विन्टल स्याउ उत्पादन भए पनि अधिकांश स्याउ बिक्री नभई बगैँचा तथा भण्डारणस्थलमै थन्किएको छ ।
“गाउँका सबैजसो परिवारले स्याउखेती गरेका छन् । कतिपयले आफन्तलाई दिएर र थोरै मात्रामा गाउँमै बिक्री गरेर स्याउ व्यवस्थापन गरेका छन्,” धामीले भन्नुभयो, “मेरो करिब १० क्विन्टल स्याउ अझै बिक्री हुन सकेको छैन । गाउँमै प्रतिकिलो एक सय रुपैयाँका दरले करिब एक क्विन्टल बिक्री गरेँ ।”
पाथाबाट नजिकको सडकसम्म स्याउ पुर्याउन पनि किसानले कठिनाइ बेहोर्नुपरेको उहाँको भनाइ छ । “गाडी पुग्ने ठाउँसम्म स्याउ लैजान एक दिन नै लाग्छ । त्यहाँ पुर्याएपछि पनि बिक्री हुन्छ कि हुँदैन भन्ने निश्चित हुँदैन,” धामीले भन्नुभयो ।
अपी हिमाल–३ कै कसौती गाउँमा पनि किसानले व्यावसायिक रूपमा स्याउखेती गरेका छन् । जनकसिंह कार्कीलगायत किसानले ठूलो क्षेत्रफलमा स्याउ लगाएका छन् । पाथाभन्दा अझ दुर्गम र सडक पहुँचबाट टाढा रहेको कसौतीको स्याउ बजारसम्म पुर्याउन झनै कठिन भएकाले किसान उत्पादन बिक्री हुनेमा आशावादी हुन सकेका छैनन् ।
उत्पादित स्याउ सुरक्षित राख्न तीन वर्षअघि घरेलु तथा साना उद्योग विकास कार्यालयले पाथा गाउँमा चिस्यान केन्द्र निर्माण गरेको थियो । अहिले उक्त केन्द्रमा धामीको करिब १० क्विन्टलसहित किसानका १५ देखि २० क्विन्टल स्याउ भण्डारण गरिएको छ ।
तर चिस्यान केन्द्रमा विद्युत् आपूर्ति नियमित नहुँदा लामो समयसम्म स्याउ सुरक्षित राख्न सकिनेमा किसान विश्वस्त छैनन् । उत्पादित स्याउ समयमै बजारमा पुर्याउन नसकिए गुणस्तरमा असर पर्ने र अन्ततः उत्पादन खेर जाने जोखिम रहेको किसानको भनाइ छ ।
उत्पादन बढ्दै गए पनि बजार, सडक तथा ढुवानीको भरपर्दो व्यवस्था नहुँदा स्याउखेतीबाट अपेक्षित आम्दानी लिन नसकेको किसानको गुनासो छ । स्थानीयस्तरमै उत्पादन हुने स्याउको बजारीकरण, ढुवानी व्यवस्थापन र भण्डारण पूर्वाधारलाई प्रभावकारी बनाउन सके किसानलाई व्यावसायिक खेतीतर्फ थप आकर्षित गर्न सकिने उनीहरूको अपेक्षा छ ।
ट्रेन्डिङ
सबै
१
२
४
सम्बन्धित खबर
