प्रथम दुर्लुङकोट हाफ म्याराथन आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख
असोज १२, पर्वत। पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ। दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यका साथ आगामी असोज ३१ गते म्याराथन आयोजना गर्न लागिएको हो।
हिन्दुहरूको महान चाड बडादसैँको अवसर पारेर दौडौं स्वास्थ्यका लागि, जोडौं समाजका लागि, दुर्लुङकोट चिनाऔँ, खेलकुदसँग जोडाऔूँ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। म्याराथन प्रतियोगिता पर्वतको मोदी गाउँपालिकाको पातिचौरबाट सुरु भइ कुश्मा बजार हुँदै दुर्लुङकोट पुगेर टुंगिनेगरी रुट तय गरिएको छ।
म्याराथनमा प्रतियोगितामा देशभरका व्यावसायिक खेलाडी तथा धावकहरुलाई सहभागी हुन आयोजक दुर्लुङकोट म्याराथन समाजले प्रेस विज्ञप्तिमार्फत आह्वान गरेको छ। प्रतियोगितामा भाग लिन चाहने धावकले असोज २३ गते भित्र आफ्नो नाम दर्ता गराइसक्नुपर्नेछ भने दर्ता शुल्क रु एक हजार रुपैयाँ तोकिएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजनकले जनाएको छ। त्यसैगरी द्वितीय पुरस्कारस् रु। ६० हजार, तृतीय पुरस्कार रु ४०,००० हजार, चौथो पुरस्कारस् रु। २० हजार र पाँचौ स्थान प्राप्त गर्नेलाई रु १० हजार प्रदान गरिनेछ।त्यसैगरी दौड सफलतापूर्वक पूरा गर्ने सबै धावकहरूलाई प्रोत्साहन स्वरूप सम्मानपत्र तथा मेडल प्रदान गरिनेछ।
यस प्रतियोगिताले ऐतिहासिक दुर्लुङकोट र पर्वत जिल्लाकै आन्तरिक पर्यटन प्रवर्द्धन र खेलकुद विकासमा महत्वपूर्ण हुने आजोजक संस्थाले विश्वास लिएको छ।
