एनपिएलः जनकपुरविरुद्ध सुदूरपश्चिमको सहज जित
काठमाडौँ, २४ कात्तिक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको जित निकालेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको यो चौथो जित हो । जनकपुर बोल्ट्सले भने लगातार तेस्रो खेलमा पराजय व्यहोरेको छ । आफ्नो खेलमा छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सवै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो ।
जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जेम्स निशमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुग्लाइनले ३ तथा कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो ।
सुदूरपश्चिम रोयल्सका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११, सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक एक विकेट लिए । यो जितपछि सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम रोयल्सले छ खेलबाट ८ अङ्क जोडेको छ ।
जनकपुरसँगको जितसँगै सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बनेको छ । आजको हारपछि जनकपुर बोल्ट्सको प्लेअफ यात्रा कठिन बनेको छ । उसले छ खेल खेल्दा चार खेलमा हार तथा दुई खेलमा मात्र जित निकालेको छ । जनकपुर बोल्ट्सले अब लिग चरणमा एउटा खेल मात्र खेल्न बाँकी छ ।
