शंखधर साख्वाको परोपकारी भावना आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ : सुनिता डंगोल
काठमाडौं, २५ कात्तिक । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको परोपकारी भावना आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छन्।
नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले शंखधर साख्वालाई नेपाल संवत्का प्रवर्तकका रूपमा मात्र नभई समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा स्मरण गर्नुपर्ने बताइन्।
व्यक्तिगत सम्पत्ति र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण तथा सकारात्मक परिवर्तनका लागि योगदान गर्नु नै व्यक्तिको वास्तविक महानता भएको उनको भनाइ थियो।
राज्य कर संकलन र प्रशासन सञ्चालन गर्ने संयन्त्रमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै डंगोलले विपन्न, सीमान्तकृत, पिछडिएका तथा दुःखमा परेका नागरिकको हित सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताइन्। उनका अनुसार लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्छ।

स्वास्थ्य, शिक्षा, न्याय तथा सामाजिक अधिकार सुनिश्चित गर्न नागरिकमैत्री नीति, कानुन र कार्यक्रम आवश्यक रहेको उनले बताइन्।
काठमाडौं महानगरपालिकाले नागरिकको सहजताका लागि स्वास्थ्य तथा न्याय क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले ‘बाइक एम्बुलेन्स’, निःशुल्क कानुनी सहायता तथा झिलिमिली सहर बनाउने अभियानलगायत कार्यक्रम सञ्चालनमा रहेको बताइन्।
तिहारसम्म अँध्यारा स्थानमा सडकबत्ती जडान गर्ने लक्ष्यसहित टेन्डर प्रक्रिया अघि बढाइए पनि प्राविधिक कारणले यसपटक प्रक्रिया पूरा हुन नसकेको उनले जानकारी दिइन्। आगामी दिनमा झिलिमिली सहर अभियानलाई निरन्तरता दिइने उनको भनाइ थियो।
कार्यवाहक प्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास निर्माण गर्ने तयारी गरेको पनि जानकारी दिइन्। उनका अनुसार निवास निर्माणका लागि मंसिर ५ गते पूजाआजासहित शिलान्यास गर्ने तयारी गरिएको छ।
जीवित देवी कुमारीसँगै जीवित देवता श्री गणेश र श्री भैरवको पनि एकै स्थानमा निवास हुनुपर्ने स्थानीय समुदायको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै महानगरपालिकाले निर्माण प्रक्रिया अघि बढाएको उनले बताइन्।
