आज विश्व मुटु दिवस : युवामै बढ्दै मुटुरोग, रोकथाममा जोड

ललितपुर, १३ असोज । ‘कुनै पनि पल नछुटाउनुहोस्’ भन्ने नाराका साथ आज विश्वभर विश्व मुटु दिवस मनाइँदैछ । मुटुरोगको जोखिम बढ्दै गएको भन्दै चिकित्सकहरूले रोकथाम, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैलीमा जोड दिएका छन् ।

विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि हरेक वर्ष सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो ।

सहरीकरण, अस्वस्थ खानपान र बदलिँदो जीवनशैलीका कारण मुटुसम्बन्धी समस्या बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् । नेपालमा पनि पछिल्लो समय युवावस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको चिकित्सकहरूको भनाइ छ ।

विभिन्न तथ्याङ्कअनुसार नेपालमा करिब २५ प्रतिशत अर्थात् झन्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारको मुटुरोगबाट प्रभावित छन् । पछिल्लो १० वर्षमा मुटुरोगीको सङ्ख्या पाँच गुणासम्म बढेको बताइएको छ । यसअघि ५० वर्षपछि बढी देखिने मुटुसम्बन्धी समस्या अहिले कम उमेरमै देखिन थालेको छ ।

वरिष्ठ कार्डियोथोरासिक सर्जन प्रा. डा. भगवान् कोइरालाले मुटुरोग तथा अन्य नसर्ने रोगको जोखिम घटाउन जनचेतना, नियमित स्वास्थ्य परीक्षण, धुमपान तथा मदिरापान नियन्त्रण र दैनिक व्यायामलाई जीवनशैलीको हिस्सा बनाउनुपर्ने बताउनुभएको छ ।

नेपालमा मुटुरोगको उपचार सेवा विस्तार भए पनि रोगको जोखिम बढिरहेकाले उपचारसँगै रोकथाममा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । जनचेतनामूलक अभियान र स्वास्थ्यसम्बन्धी प्रभावकारी कार्यक्रमले स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न सक्ने उहाँले बताउनुभयो ।

चिकित्सकहरूका अनुसार धुमपानले शरीरका विभिन्न अङ्गमा गम्भीर असर पुर्‍याउने भएकाले यसलाई त्याग्नु, सन्तुलित खानपान अपनाउनु र नियमित व्यायाम गर्नु मुटु स्वस्थ राख्न महत्त्वपूर्ण हुन्छ । नियमित शारीरिक गतिविधिले तौल, रक्तचाप र मधुमेह नियन्त्रणमा सहयोग पुर्‍याउनुका साथै तनाव व्यवस्थापन र शारीरिक सक्रियता बढाउनसमेत मद्दत गर्छ ।

हृदयाघातका संकेत के हुन् ?
चिकित्सकहरूका अनुसार छातीको बीच भागमा गह्रौँ वस्तुले थिचेजस्तो दुखाइ हुनु, दुखाइ बायाँ हाततर्फ सर्नु, चिटचिट पसिना आउनु, वाकवाकी तथा बान्ता हुनु हृदयाघातका प्रमुख संकेत हुन सक्छन् ।

त्यस्तै पेटको बीच भागमा अत्यधिक दुखाइ, अचानक डर वा असहजता महसुस हुनु तथा मुटुको धड्कन बढेको अनुभव हुनु पनि हृदयाघातका संकेत हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

मुटुरोगको जोखिम घटाउन धुमपान नगर्ने, मदिरा सेवनबाट बच्ने, कोलेस्ट्रोल, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने तथा शरीरको तौल सन्तुलित राख्न चिकित्सकहरूले सुझाव दिएका छन् ।

फलफूल तथा सागसब्जी पर्याप्त मात्रामा समावेश भएको सन्तुलित खाना खाने, मानसिक तनाव र रिस व्यवस्थापन गर्ने, वायु प्रदूषणको सम्पर्क कम गर्ने तथा नियमित शारीरिक गतिविधि गर्ने बानीले पनि मुटुलाई स्वस्थ राख्न सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *