पहिरोले बेनीमा १२ घर क्षति, करिब १०० घर जोखिममा
म्याग्दी, १५ असोज । म्याग्दीको सदरमुकाम बेनी बजार पछाडिको पाखोबाट खसेको पहिरोले १२ घरमा क्षति पुर्याएको छ । बेनी नगरपालिका–८ न्युरोडस्थित खोरियाको पाखोबाट बुधबारदेखि पटक–पटक खसेको पहिरोले छ घरमा लेदोसहितको पहिरो पसेर बस्न नमिल्ने बनाएको छ भने अन्य छ घरमा आंशिक क्षति पुगेको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार बुधबार दिउँसोदेखि बिहीबार बिहानसम्म तीन पटक पहिरो खसेको हो । पाखामा रहेका पानीका मुहानबाट बगेको भूमिगत पानीसँगै पहिरो खसेपछि जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको उहाँले जानकारी दिनुभयो ।
“थप क्षति हुन नदिन प्राविधिक टोलीबाट अध्ययन गराउनुका साथै पहिरो पन्छाउने र पानी तर्काउने काम भइरहेको छ”, नगरप्रमुख केसीले भन्नुभयो ।
पहिरोको जोखिम बढेपछि न्युरोडका स्थानीयवासीले गएराति नै घर छाडेका थिए । कृषि विकास बैंक र ग्लोबल आइएमई बैंकका शाखा कार्यालयमा रहेका महत्वपूर्ण सामग्री तथा कागजातसमेत सुरक्षित स्थानमा सारिएको नगरप्रमुख केसीले बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीको टोलीले बिहीबार बिहानदेखि जोखिममा रहेका घरबाट सामान सुरक्षित स्थानमा सारिरहेको छ ।
पहिरोको त्रासका कारण स्थानीयवासी रातभर जाग्राम बसेको स्थानीय चिरञ्जीवी शर्माले बताउनुभयो । पहिरो प्रभावित घरमा डेरा गरी बस्नेका लागि खानाको व्यवस्था गरिएको बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो चार दिनदेखि जमिन चिरा पर्ने क्रम बढ्दै गएको थियो । बुधबारदेखि भने पहिरो खस्न थालेको हो । करिब ३०० मिटर उचाइ, ५०० मिटर चौडाइ र १०० मिटर लम्बाइ क्षेत्रको खरबारीमा चिरा परेको छ ।
“पाखाका रूखहरू लडेका र ढल्किएका छन् । पानीको मुहान भएको ठाउँबाट सुरु भएको पहिरोले माथि र तल दुवैतर्फ असर गरेको छ”, वडाध्यक्ष कर्माचार्यले भन्नुभयो, “बेनी बजारमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइपलाइनसमेत चुँडिएका र ठाउँठाउँमा भाँचिएका छन् ।”
पहिरोका कारण बेनीको न्युरोड र गणेशटोल क्षेत्रका करिब १०० घर जोखिममा रहेको जनाइएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पहिरो प्रभावित क्षेत्रको प्राविधिक अध्ययनका लागि भूगर्भविद्को टोली पठाउन सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिनुभयो ।
भूगर्भविद्को अध्ययन र सुझावका आधारमा पहिरोबाट हुनसक्ने थप क्षतिको आकलन गरिने जनाउँदै प्रमुख जिल्ला अधिकारी गैरेले सम्भावित जोखिमबाट जोगिन बेनी बजारवासीलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
