१८ अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौँ, १६ असोज । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १८ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ।
केन्द्रीय बैंकले २८ दिन अवधिको ‘१ महिने निक्षेप संकलन उपकरण’ बोलकबोलमार्फत निष्कासन गर्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार बोलकबोल असोज १६ गते दिउँसो ३ बजेसम्म खुला रहनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत मात्र बोलपत्र पेस गर्नुपर्नेछ। उपकरण असोज १६ गते नै निष्कासन हुनेछ भने यसको साँवा तथा ब्याज भुक्तानी कात्तिक १३ गते गरिनेछ।
यस उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी संस्थाले बहु-ब्याजदरमा समेत बोल पेस गर्न सक्नेछन्। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। प्रत्येक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि १० करोड रुपैयाँको गुणनमा अधिकतम १८ अर्ब रुपैयाँसम्म बोल गर्न सक्ने व्यवस्था छ।
१८ अर्ब रुपैयाँको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलवालालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा प्राप्त बोल रकम कुल निष्कासित रकमभन्दा बढी भएमा आनुपातिक (प्रो–राटा) आधारमा बाँडफाँड गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमार्फत प्राप्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।
निक्षेप संकलन गरिएको रकम राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। तर, तोकिएको भुक्तानी मितिभन्दा अगावै यसको पूर्वभुक्तानी (प्रि-म्याच्योर भुक्तानी) गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ।
