सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि जितिया व्रत सुरु
सप्तरी, १६ असोज । तराई–मधेसमा सन्तानको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्दै मनाइने जितिया पावनी व्रत सुरु भएको छ। महिलाले कठोर धार्मिक विधि पूरा गर्दै यो व्रत मनाउने गर्छन्।
जितिया विशेषगरी तराई–मधेसका महिला तथा थारू समुदायमा प्रचलित महत्वपूर्ण पर्व हो। यस वर्ष षष्ठी तिथिबाट व्रतको विधि सुरु भएको छ। व्रतालु महिलाले पोखरी, तलाउ वा नदीमा स्नान गरी पूजाआजा गरेर व्रतको सङ्कल्प लिने गर्छन्। सप्तमी तिथिमा भने पानीसमेत नखाई निराहार व्रत बस्ने परम्परा छ।
व्रतको अघिल्लो दिन महिलाले घरआँगन लिपपोत गरी चोखो बनाउने र पिना, तेल, घिरौँलाको पात, जियलको पात, बाँसको पात तथा नयाँ लुगा लिएर समूहमा जलाशयमा जाने चलन छ। स्नानपछि पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना र तेल चढाउने गरिन्छ।
व्रतालुले सूर्यदेवलाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको सङ्कल्प लिने तथा दिवङ्गत हजुरआमा, सासूआमालगायत तीन पुस्तासम्मका पितृ महिलालाई तर्पण दिने परम्परा रहेको राजविराज नगरपालिका–२ का ७५ वर्षीय शम्भु मिश्रले बताउनुभयो। उहाँका अनुसार यसलाई ‘षोडश मातृका श्राद्ध’समेत भन्ने गरिन्छ।
व्रतको अघिल्लो दिन साँझ व्रतालुले विभिन्न परिकार, दही, मिठाइ, माछा तथा कोदोको रोटी खाने चलन छ। व्रतको दिन बिहानै घिरौँलाको पातमा दही, चिउरा, चिनी, केरा, मिठाइ, पान र सुपारीलगायत सामग्री पितृ तथा जिमुतवाहनलाई चढाउने गरिन्छ।
व्रतको साँझ छोराको सङ्ख्याअनुसार नरिवल, फलफूललगायत पूजाका सामग्री राखेर डाली भर्ने र मानको पातले छोप्ने परम्परा छ। व्रत सकिएपछि छोरा वा नातिले डाली खोलेर प्रसाद निकाल्ने, पुनः पितृ तथा जिमुतवाहनलाई चढाउने र प्रसाद बाँडेपछि व्रतालुले पानी तथा अन्य खानेकुरा खाने चलन छ।
जितिया व्रत धार्मिक आस्थासँगै सामाजिक सद्भाव र पारिवारिक सम्बन्धसँग पनि जोडिएको छ। आफन्त, साथीभाइ तथा छिमेकी मिलेर सामूहिक रूपमा दर खाने, भेटघाट गर्ने र शुभकामना आदानप्रदान गर्ने क्रम बढ्दै गएको छ। जितियासम्बन्धी गीत, कथा तथा महिलाका प्रतिभा प्रस्तुत गर्ने कार्यक्रमसमेत सामूहिक रूपमा आयोजना हुन थालेका छन्।
जितियामा जियल, बाँस र घिरौँलाका पात अनिवार्य रूपमा प्रयोग हुने भएकाले यसले प्रकृति र वातावरण संरक्षणको सन्देशसमेत दिने गरेको छ। सोह्रश्राद्धको अवधिसँगै पर्ने भएकाले महिलाले पितृलाई तर्पण तथा प्रसादी चढाउने परम्पराले पितृप्रतिको सम्मानमा महिलाको सहभागितालाई समेत निरन्तरता दिएको छ।
कठोर उपवासका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भए पनि धार्मिक आस्थाका कारण धेरै महिला निराहार व्रत बस्ने गर्छन्। यही कारण जितियालाई तराई–मधेसका महिलाको आस्था, मातृत्व र सांस्कृतिक परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।
