राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
काठमाडौं, २१ असाेज । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एकमहिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार उक्त बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म प्रस्ताव गर्न सक्नेछन्। प्रस्तावित रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
