नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ९३ करोड

काठमाडौं, २२ असाेज । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार सामान्य अंकले घटेको बजार बिहीबार भने २.३१ अंकले बढेको हो।

बिहीबार नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४.६५ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.८१ अंक, फ्लोट इन्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२९ अंकले बढेका छन्।

नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन ३५४ स्टकको १ करोड १२ लाख ३३ हजार कित्ता शेयर ४३ हजार ८१२ पटकको कारोबारबाट खरिद–बिक्री भएको छ।

बिहीबार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो।

त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशतले बढेको छ। लक्ष्मी भ्यालु फण्ड–२ र मेगा म्युचुअल फण्ड–१को इकाईमूल्य पनि ६ प्रतिशतले बढेको छ।

यस दिन कारोबारमा आएको आरबिबि म्युचुअल फण्ड–२को इकाईमूल्य भने सर्वाधिक ८.०७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा बिहीबार पनि घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये बिहीबार आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ। यस्तै बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *