मङ्गल ग्रहमा जीवनको अवशेष भेटिएको सङ्केत: तर प्रयोगशालासम्म कहिल्यै नपुग्ने जोखिम!

काठमाडौं ।  अहिले रातो ग्रह (मङ्गल) को एउटा धातुको ट्युबभित्र ‘चितुवाको जस्तै थोप्ला’  भएको सानो चट्टान बन्द अवस्थामा छ। ‘स्याफायर क्यान्यन’  नाम दिइएको चकको खरिद जत्रो यो चट्टानले पृथ्वीबाहिर जीवनको अस्तित्व थियो वा थिएन भन्ने युगौँदेखिको उत्तर दिन सक्छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को ‘पर्सिभरेन्स रोभर’ ले ३ अर्ब वर्ष पहिले नदीहरू बगेर तालमा परिणत भएको ‘जेजेरो क्रेटर’ ) नजिकैबाट यो चट्टान सङ्कलन गरेको थियो। सन् २०२१ को फेब्रुअरीमा मङ्गल ग्रहमा ओर्लिएको पर्सिभरेन्सको मुख्य काम नै प्राचीन जीवनका सम्भावित जैविक चिह्न (Biosignatures) खोज्नु थियो।

अनुसन्धान टोलीका सदस्य तथा पर्ड्यू युनिभर्सिटीका अनुसन्धानकर्ता एड्रियन ब्रोज भन्छन्, “मङ्गल ग्रहमा जैविक अवशेष हुनसक्ने सम्भावना बोकेको वस्तु भेटिएको यो पहिलो पटक हो। यो अहिले रोभरभित्र सुरक्षित छ र पृथ्वीमा ल्याइने पर्खाइमा छ।”

तर, वैज्ञानिकहरूका लागि सबैभन्दा चिन्ताको विषय के हो भने—यो ऐतिहासिक नमुना कहिल्यै पृथ्वीसम्म नपुग्न पनि सक्छ।

खर्चको बोझ र रद्द भएको महत्वाकाङ्क्षी योजना

नासा र युरोपेली अन्तरिक्ष एजेन्सी (ESA) ले संयुक्त रूपमा सञ्चालन गर्न खोजेको ‘मार्स स्याम्पल रिटर्न’  कार्यक्रम अत्याधिक बजेट र जटिल प्राविधिक संरचनाका कारण निरन्तर विवादमा पर्यो। अर्बौँ डलर खर्च भइसकेपछि नासाले बजेटको अभाव देखाउँदै सन् २०२४ मा यस योजनालाई समीक्षामा राख्यो र पछि पूर्ण रूपमा रद्द गरिदियो।

नासाले यसका लागि सस्तो र व्यावसायिक विकल्पहरूको खोजी भइरहेको बताए पनि ठोस कार्ययोजना अझै सार्वजनिक गर्न सकेको छैन।

पर्ड्यू युनिभर्सिटीका पृथ्वी तथा ग्रह विज्ञानकी प्राध्यापक डा. ब्रियोनी होर्गनका अनुसार, २४ अर्ब डलर लागतमा तयार पारिएको पर्सिभरेन्स रोभरसँग मङ्गल ग्रहकै धरातलमा जीवनको अकाट्य प्रमाण पुष्टि गर्ने प्रविधि उपलब्ध छैन।

“हामीले टाढैबाट सङ्केतहरू मात्र पाउन सक्छौँ,” होर्गन भन्छिन्, “तर ती नमुनाहरूलाई पृथ्वीका आधुनिक प्रयोगशालामा ल्याएर परीक्षण नगरेसम्म जीवनको अस्तित्व थियो वा थिएन भनेर ठोकुवा गर्न सकिँदैन।”

‘चितुवाको थोप्ला’ र जीवनको सङ्केत

वैज्ञानिकहरूले ‘स्याफायर क्यान्यन’ चट्टानलाई अत्यन्तै महत्त्वपूर्ण मान्नुको कारण यसमा देखिएका अनौठा थोप्लाहरू हुन्। पृथ्वीमा माटो वा लेदोभित्र रहेका जैविक पदार्थहरूलाई सूक्ष्मजीव (Microbes) ले पाचन गर्दा यस्तै सेता र घेरादार थोप्लाहरू बन्ने गर्छन्।

रोभरले सन् २०२४ को जुलाईमा ‘चेयाभा फल्स’ नामक ठूलो चट्टानबाट यो नमुना ड्रिल गरी निकालेको थियो। तर, वैज्ञानिकहरूका अनुसार यस्ता थोप्लाहरू जीवको उपस्थितिबिना नै रासायनिक वा भूगर्भीय प्रक्रियाबाट पनि बनेका हुन सक्छन्। यसको अन्तिम पुष्टि केवल पृथ्वीका अत्याधुनिक प्रयोगशालाहरूबाट मात्र सम्भव छ।

अन्तरिक्ष दौड: अमेरिकाको अलमल, चीनको तयारी

नासा आफ्नो योजनामा अलमलिइरहँदा अन्तरिक्षको नयाँ प्रतिस्पर्धी चीन भने मङ्गल ग्रहको नमुना पहिलो पटक पृथ्वीमा ल्याउने दौडमा अगाडि देखिएको छ।

चीनले सन् २०२८ मा आफ्नो ‘तियानवेन-३’ (Tianwen-3) मिसन प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गल ग्रहबाट नमुनाहरू पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ। चीनले यसअघि चन्द्रमाको टाढाको भागबाट सफलतापूर्वक नमुना ल्याइसकेको अनुभवलाई यस मिसनमा प्रयोग गर्दैछ।

यदि चीनले यो सफलता हासिल गरेमा अन्तरिक्ष क्षेत्रमा अमेरिकी प्रभुत्वलाई ठूलो धक्का लाग्नेछ। नासाका वर्तमान प्रशासक ज्यारेड इसाकमानले मङ्गल ग्रहबाट नमुना ल्याउनु मानव इतिहासकै सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धि हुने भन्दै यसलाई जसरी पनि निरन्तरता दिने बताएका छन्, तर ठोस समयसीमा अझै तोकिएको छैन।

आशाको किरण

यद्यपि, वैज्ञानिकहरू अझै आशावादी छन्। ‘लक्हिड मार्टिन’ जस्ता निजी अन्तरिक्ष कम्पनीहरूले ३ अर्ब डलरभन्दा कम खर्चमा सन् २०३७ सम्ममा ती नमुनाहरू पृथ्वीमा ल्याउन सकिने साना र द्रुत मिसनका प्रस्तावहरू अघि सारेका छन्।

पर्सिभरेन्स रोभरले हालसम्म ३३ वटा ट्युबमा मङ्गल ग्रहका चट्टान, धुलो र वायुमण्डलका नमुनाहरू सुरक्षित रूपमा भरेर राखिसकेको छ।

“मङ्गल ग्रहका ती चट्टानहरू ट्युबभित्र तयार अवस्थामा छन्,” अनुसन्धानकर्ता डा. मेलिसा राइस भन्छिन्, “मानव जातिले ब्रह्माण्डमा आफ्नो अस्तित्वबारे सोध्दै आएको सबैभन्दा ठूलो प्रश्नको उत्तर ती ट्युबभित्र छ। अब मात्र हामीले त्यहाँ पुगेर तिनलाई ल्याउनु छ।”(स्रोतःसीएनएन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *