बूढीगण्डकी बाढीको असरः उत्तरी गोरखाका पाँच हजार घर अन्धकारमा
गोरखा, २८ असोज। बूढीगण्डकीमा आएको बाढीले विद्युत् आयोजना, प्रसारण संरचना र वितरण केन्द्रमा क्षति पुर्याउँदा उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन्। विद्युत् र इन्टरनेट अवरुद्ध हुँदा स्थानीय बासिन्दासँगै सरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ।
आइतबार बिहान चुमनुब्री गाउँपालिका–६ स्थित उङ्गिलुङ खोला हुँदै बूढीगण्डकीमा आएको बाढीले वडा नं. ३ को जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो। आयोजनाका अध्यक्ष सुजन गुरुङका अनुसार बाढीले विद्युत्का १२ वटा पोल, एउटा टावर र तारहरू बगाएको छ। पावरहाउस भने सुरक्षित रहेको छ।
आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका–३ र ६ का ९७१ घरधुरीमा विद्युत् सेवा अवरुद्ध भएको गुरुङले जानकारी दिनुभयो। लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन र सिर्दिबासलगायत बस्ती प्रभावित भएका छन्।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार विद्युत् र इन्टरनेट सेवा बन्द हुँदा पालिकाको प्रशासनिक काम ठप्प भएको छ। निजी सङ्घसंस्था र स्थानीय नागरिकसमेत समस्यामा परेका छन्।
“बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो। अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदानप्रदानमा समस्या भएको छ,” सापकोटाले भन्नुभयो। फिलिमका केही घरमा जडान गरिएका सोलारको सहायताले स्थानीयले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका छन्।
चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बाढीले बाटो र पुल बगाएपछि प्रभावित क्षेत्रका बस्तीबीच आवतजावतसमेत कठिन बनेको छ। अधिकांश गाउँमा विद्युत् र इन्टरनेट सेवा प्रभावित भए पनि हालसम्म मानवीय क्षति नभएको उहाँले बताउनुभयो।
यस्तै, धार्चे गाउँपालिकाका सातवटै वडाका करिब चार हजार घरधुरी विद्युत्विहीन बनेका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतका अनुसार बाढीले नेपाल विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा क्षति पुर्याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। बाढीले सञ्चार, सडक र पुलमा समेत क्षति पुर्याएको उहाँले बताउनुभयो।
आरुघाट गाउँपालिकाको वडा नं. ५ स्थित शान्तिबजार क्षेत्रका थप ५० घरधुरीमा पनि विद्युत् सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो।
बाढीका कारण उत्तरी गोरखाका विभिन्न बस्तीमा विद्युत्, सञ्चार र यातायात सेवा प्रभावित हुँदा जनजीवन कष्टकर बनेको छ।
