न तीर्थ भेटिन्छ, न नदी : हराउँदै पचली भैरवको पञ्चनारी तीर्थ
काठमाडौँ, २९ असोज। दसैँ अर्थात् मोहनी पर्वको पाँचौँ दिन पञ्चमीका अवसरमा आज टेकू क्षेत्रमा पचली भैरवको जात्रा मनाइँदैछ। स्थानीय नेपालभाषामा ‘पचिंमह्रः’ भनिने यो जात्रा काठमाडौँको तल्लो भेगमा दसैँको प्रमुख दिनका रूपमा समेत मनाउने परम्परा छ। तर, यही पर्वसँग जोडिएको ऐतिहासिक पञ्चनारी तीर्थ भने अहिले हराउँदै गएको छ।
पचली भैरवको जात्राका दिन काठमाडौँमा मनाइने नवरात्रि मेला पनि पचली भैरवथानमा पुग्ने परम्परा छ। यस दिन टेकू क्षेत्रमा रहेको पञ्चनारी तीर्थमा स्नान गरी पचली भैरव पीठमा पूजाआजा गर्ने धार्मिक प्रचलन छ।
टेकू दोभानबाट केही वर रहेको पञ्चनारी तीर्थ काठमाडौँ महानगरपालिकाको वातावरण विभागसँगैको बाटो हुँदै बागमतीतर्फ जाँदा सामुन्ने पर्ने स्थानमा रहेको बताइन्छ। तर, अहिले उक्त तीर्थमा सहजै पुग्न सकिने अवस्था छैन।
तीर्थ रहेको भनिएको स्थानमा पर्खालजस्तो बार लगाइएको छ। त्यहाँ कर्मा लुण्डुप नेरासाङको स्मरणमा ‘चिन्तामणि पञ्चनारी पार्क’ निर्माण गरिएको उल्लेखसहितको शिलापत्र राखिएको छ। पार्कमा एउटा चैत्यसमेत बनाइएको छ। तर, बारको ढोका नखोलिने भएकाले सर्वसाधारण तीर्थ र पार्कसम्म पुग्नबाट वञ्चित भएका छन्।
पचली भैरवको पूजाआजाका क्रममा निस्कने केही पूजा सामग्री पञ्चनारी तीर्थमा विसर्जन गर्नुपर्ने परम्परा छ। तर, तीर्थसम्म पुग्न नसक्दा अहिले पूजा सामग्री बारबाहिरै फाल्नुपर्ने अवस्था आएको छ। यसले धार्मिक परम्परा निरन्तरता दिनसमेत कठिनाइ भएको देखाउँछ।
स्थानीय मान्यताअनुसार पञ्चनारी नदी बागमतीमा मिसिने दोभानलाई पञ्चनारी तीर्थ भनिएको हो। तर, अहिले पञ्चनारी नदी नै हराइसकेको छ। नदी कहाँबाट बग्थ्यो र यसको पुरानो बहाव क्षेत्र कुन थियो भन्ने विषयमा स्थानीय वृद्धवृद्धालाई समेत स्पष्ट जानकारी छैन।
नदी तथा परम्परागत जलस्रोत हराउनु पर्यावरणीय समस्यामा मात्र सीमित छैन। यसले स्थानीय समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र पुस्तौँदेखि चल्दै आएका संस्कारमा समेत असर पारिरहेको छ। पचली भैरवको पञ्चमी जात्रासँग जोडिएको पञ्चनारी तीर्थको अवस्था त्यसैको एउटा उदाहरण बनेको छ।
