म्याग्दीमा मनसुनजन्य विपद्बाट ७८९ परिवार प्रभावित, ४२७ घरमा क्षति
म्याग्दी, १६ कात्तिक । म्याग्दीमा यस वर्षको मनसुनजन्य विपद्बाट ७८९ घरपरिवार प्रभावित भएका छन्। बाढी, पहिरो र कटानका कारण जिल्लामा २४३ घर पूर्ण र १८४ घर आंशिक क्षति भएका छन् भने ३६२ घर जोखिममा परेको विवरण सङ्कलन गरिएको छ।
प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार विपद्मा परी अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिकामा दुई जनाको मृत्यु भएको छ। बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता छन्।
विपद्बाट ३४ गोठ पूर्ण र ४६ वटामा आंशिक क्षति पुगेको छ भने १३ विद्यालयमा क्षति भएको छ। जनप्रतिनिधि, प्राविधिक र प्रहरीको टोलीले क्षतिको विवरण सङ्कलन गरी मुचुल्का तयार पारेको हो।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले उद्धार र राहतपछि अस्थायी बसोबासको व्यवस्था गर्दै पुनर्निर्माणको चरणमा प्रवेश गरेको बताउनुभयो।
निजी आवास पुनर्निर्माण आगामी २०८३ जेठ दोस्रो हप्ताभित्र सम्पन्न गर्ने लक्ष्यसहित १२ बुँदे कार्ययोजना तयार गरिएको छ। कार्ययोजना कार्यान्वयनका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिको जिम्मेवारीसमेत तोकिएको छ।
विपद् प्रभावितले निजी आवास पुनर्निर्माणका लागि रु पाँच लाख अनुदान पाउने व्यवस्था रहेको छ।
विपद्का कारण बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी–बागलुङलगायत सडक, खानेपानी, सिँचाइ, विद्युतीकरण, जलविद्युत् आयोजना, प्रसारण लाइन तथा नदी नियन्त्रण योजनामा ठूलो क्षति पुगेको छ।
कालीगण्डकी र म्याग्दी नदीमा आएको बाढीले तटीय क्षेत्रमा कटान तथा जोखिम बढाएको छ। क्षतिको विवरण सङ्कलन जारी रहेकाले प्रभावित परिवार र संरचनाको सङ्ख्या थपिन सक्ने प्रशासनले जनाएको छ।
सरकारले असोज २१ गते जिल्लाका बेनी नगरपालिका तथा अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। आकस्मिक प्रतिकार्यका लागि संघीय सरकारले पहिलो चरणमा रु ४०/४० लाख अनुदान पठाएको छ।
क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माणका लागि स्थानीय तहको माग र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत बजेट उपलब्ध गराइने विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री एवं म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले बताउनुभयो।
