मैदानमै भएको भीषण ठक्करपछि स्पेनी फुटबलर जेसुस डे मिगुएलको निधन
काठमाडौं, १७ कात्तिक । स्पेनिस फुटबल खेलाडी जेसुस डे मिगुएलको खेलकै क्रममा भएको गम्भीर दुर्घटनापछि निधन भएको छ। स्पेनको दोस्रो डिभिजनको लिगअन्तर्गत सोमबार भएको खेलमा विपक्षी टोलीका गोलरक्षकसँग ठोक्किएर घाइते भएका ३० वर्षीय स्ट्राइकरको उपचारका क्रममा मंगलबार मृत्यु भएको उनको क्लब सीडी टेनेरिफले जनाएको छ।
टेनेरिफ र एन्डोराबीच भएको सेगुन्डा डिभिजनको खेल सकिनै लाग्दा उक्त दुर्घटना भएको थियो। मैदानको मध्यभागनजिक बल पछ्याइरहेका डे मिगुएललाई एन्डोराका गोलरक्षक जेसुस ओवोनोले बल क्लियर गर्ने क्रममा तीव्र गतिमा आएर ठक्कर दिएका थिए। ओवोनो आफ्नो गोलपोस्टबाट निकै अगाडि निस्किएका थिए।
घटनापछि रेफ्रीले ओवोनोलाई तत्काल रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए। सुरुमा मैदान छाडेर बाहिरिँदै गरेका उनी डे मिगुएलको अवस्था गम्भीर देखेपछि पुनः उनीतर्फ फर्किएका थिए।
दुर्घटनापछि डे मिगुएल छाती समाउँदै मैदानमा ढलेका थिए। केही समयपछि उनी अचेत अवस्थामा निश्चल देखिए। दुवै टोलीका खेलाडीहरू घटनाबाट स्तब्ध बनेका थिए। उनलाई तत्काल स्वास्थ्य सहायता उपलब्ध गराइएपछि खेल सकिन केही मिनेट बाँकी रहँदै स्थगित गरिएको थियो।
३० वर्षीय खेलाडीलाई तत्काल अस्पताल पुर्याइएको थियो। सुरुमा उनको अवस्था गम्भीर भए पनि स्थिर रहेको बताइएको थियो। तर, राति उनको न्युरोलोजिकल अवस्था थप बिग्रिएको क्लबले जानकारी दिएको थियो।
मंगलबार बिहान क्लबले डे मिगुएलको निधन भएको आधिकारिक घोषणा गरेको हो।
क्लबले शोक वक्तव्य जारी गर्दै भनेको छ, “हामी पीडाले थिचिएका छौँ। घाँटीमा गाँठो परेको छ र यो सत्य हो भन्ने विश्वास गर्न सकिरहेका छैनौँ।”
क्लबले उनको परिवार, आफन्त, साथीभाइ तथा समर्थकप्रति समवेदना व्यक्त गर्दै यस दुःखद घटनाले सम्पूर्ण टेनेरिफ परिवारलाई स्तब्ध बनाएको जनाएको छ।
एन्डोरा फुटबल क्लबले पनि डे मिगुएलको निधनप्रति दुःख व्यक्त गर्दै उनका परिवार, साथीभाइ, सहकर्मी तथा सीडी टेनेरिफप्रति गहिरो समवेदना प्रकट गरेको छ।
डे मिगुएलले सन् २०२५ को गर्मीयाममा टेनेरिफसँग सम्झौता गरेका थिए। उनले आफ्नो फुटबल करियरको अधिकांश समय स्पेनका तल्लो श्रेणीका लिगहरूमा बिताएका थिए।
विश्व फुटबल जगत् शोकमा
डे मिगुएलको निधनपछि स्पेनसहित अन्तर्राष्ट्रिय फुटबल जगत्का विभिन्न क्लब तथा खेलाडीहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
उनका पूर्वसहकर्मी युनियोनिस्तास डे सलामान्काका खेलाडी फर्नान्डो रोमानले सामाजिक सञ्जाल एक्समार्फत तस्बिरहरू सार्वजनिक गर्दै उनलाई सम्झिएका छन्। उनले डे मिगुएललाई साथीभन्दा पनि बढी आत्मीय व्यक्ति भन्दै कहिल्यै बिर्सन नसक्ने उल्लेख गरेका छन्।
स्पेनिस क्लब रियल म्याड्रिडले मंगलबारको प्रशिक्षणअघि एक मिनेट मौनधारण गर्ने जनाएको छ। क्लबले डे मिगुएलका परिवार तथा साथीहरूप्रति समवेदना व्यक्त गरेको छ।
त्यस्तै, बार्सिलोनाले पनि उनको निधनको खबरले आफूहरू अत्यन्त दुःखी भएको जनाएको छ।
स्पेनको फुटबल महासंघले घटनाप्रति सम्मान प्रकट गर्दै मंगलबारका लागि निर्धारित कोपा डेल रे प्रतियोगिताका सबै खेल स्थगित गर्ने निर्णय गरेको छ।
युरोपेली फुटबल महासंघ (यूईएफए) ले पनि यसै साता हुने आफ्ना सबै प्रतियोगिताका खेल सुरु हुनुअघि डे मिगुएलको सम्झनामा एक मिनेट मौनधारण गरिने घोषणा गरेको छ।
यसअन्तर्गत च्याम्पियन्स लिगमा मंगलबार र बुधबार खेल्ने स्पेनिस क्लबहरू एट्लेटिको म्याड्रिड, बार्सिलोना, भिल्लारियल, रियल म्याड्रिड र बेटिसका खेलमा समेत मौनधारण गरिनेछ।
