अमेरिका–इरान वार्तामा कतारको मध्यस्थता जारी, ‘संकट समाधान नगरी छाड्न मिल्दैन’

दोहा, २२ कात्तिक । अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि कतारले मध्यस्थताको प्रयास निरन्तर रहेको जनाएको छ। कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले युद्ध अन्त्यका लागि शान्ति सम्झौता गर्न ढिला गर्न नहुने बताएका छन्।

शुक्रबार अक्सफोर्ड विश्वविद्यालयमा आयोजित सार्वजनिक कार्यक्रम तथा अन्तर्वार्तामा उनले अहिलेको संकटलाई समाधानविहीन अवस्थामा छाड्न नसकिने बताए। सम्झौताका लागि अमेरिका र इरान दुवैले ‘उत्तम समय’को प्रतीक्षा गर्न नसक्ने उनको भनाइ थियो। “पूर्ण शान्ति सम्झौता कहिल्यै नहुन सक्छ, तर पूर्ण सम्झौताको प्रतीक्षा गर्दै राम्रो सम्झौता गर्नबाट पछि हट्न सकिँदैन,” उनले भने।

पछिल्ला केही सातादेखि अमेरिकी प्रशासनका अधिकारीसँग मिलेर अवस्था नियन्त्रणमा लिने र तनाव घटाउने उपाय खोजिरहेको उनले जानकारी दिए। दुई देशबीचको कूटनीतिक सम्पर्क केही दिनअघिको तुलनामा कम सक्रिय देखिए पनि वार्ता र मध्यस्थताको प्रयास नरोकिने उनले स्पष्ट पारे। इरानभित्रका केही ‘विवेकी आवाज’का कारण संकट नियन्त्रणबाहिर जानबाट जोगिएको पनि उनको भनाइ छ।

इरानी नेतृत्व अमेरिकी नीति परिवर्तनको प्रतीक्षामा

कतारका विदेशमन्त्रीका रणनीतिक मामिला सल्लाहकार अली अल–थावादीले द वासिङ्टन पोस्टसँग कुरा गर्दै इरानी नेतृत्वले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानप्रतिको अमेरिकी नीतिमा परिवर्तन आउने/नआउने विषयमा चासोपूर्वक हेरिरहेको बताए।

उनका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्रलाई इरानले सम्मानको संकेतका रूपमा लिएको थियो। भान्सले युद्धलाई ‘गल्ती’ भनेको विषयलाई पनि इरानी नेतृत्वले सकारात्मक रूपमा लिएको उनले बताए। अब अमेरिकी प्रशासनले दुवै दल (डेमोक्र्याट र रिपब्लिकन) बीच सहमति देखिएको विषयमा आफ्नो प्रतिबद्धता कार्यान्वयन गर्ने अपेक्षा इरानले गरेको उनको भनाइ छ। निर्वाचनपछि अमेरिकी नीतिमा परिवर्तन आउन सक्ने भए पनि समाधान खोज्ने अमेरिकी प्रशासनको इच्छाशक्तिमा तत्काल असर नपरेको अल थानीको भनाइ थियो।

वार्ता असफल भएको दाबी कतारद्वारा खण्डन

कतारले अमेरिका र इरानबीचको वार्ता असफल भएको समाचारको खण्डन गरेको छ। कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत उक्त दाबी गलत भएको बताए। यस्ता गलत दाबीले युद्ध लम्ब्याउन र क्षेत्रीय अस्थिरता बढाउन चाहने पक्षलाई मात्र फाइदा पुग्ने उनले उल्लेख गरे।

उनका अनुसार दुवै पक्ष सम्झौतातर्फ काम गरिरहेका छन् र कतारी मध्यस्थकर्ताहरू दुवै पक्षसँग निरन्तर सम्पर्कमा रहेर वार्ता अघि बढाउन सहयोग गरिरहेका छन्।

ट्रम्पले भने– इरानसँग संवाद भइरहेको छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँग संवाद भइरहेको बताएका छन्। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग टेलिफोन वार्ता गरेपछि अमेरिकाले तेहरानका प्रतिनिधिसँग कुराकानी गरिरहेको उनले जानकारी दिए।

यसअघि शुक्रबार फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा बोल्दै ट्रम्पले इरानविरुद्ध गरिएको अमेरिकी सैन्य कारबाहीको बचाउ गरेका थिए। इरानलाई आणविक हतियार बनाउन दिएको भए इजरायल ‘पृथ्वीको नक्साबाट मेटिइसकेको हुने’ उनको दाबी थियो। उक्त कारबाहीले इरानलाई आणविक हतियार हासिल गर्नबाट रोकेको उनले बताए।

किश्म टापुमा क्षेप्यास्त्र प्रहार

यसैबीच, इरानको सरकारी समाचार संस्था इरना (IRNA) का अनुसार स्ट्रेट अफ होर्मुजस्थित किश्म टापुमा दुईवटा क्षेप्यास्त्र प्रहार भएका छन्। अर्धसरकारी सञ्चारमाध्यमहरूले भने घटनामा कुनै मानवीय क्षति नभएको जनाएका छन्।

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई २ करोड डलरसम्म पुरस्कार

अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमले इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ। इरानका आणविक केन्द्र, उपकरण तथा सम्बन्धित व्यक्तिबारे महत्त्वपूर्ण सूचना उपलब्ध गराउनेलाई पुरस्कारका साथै आवश्यक परे स्थानान्तरणको सुविधा पनि दिइने जनाइएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले सन् २०२५ मा इरानले ६० प्रतिशतसम्म युरेनियम संवर्धन गरिरहेको जनाएको थियो। आणविक हतियारका लागि आवश्यक करिब ९० प्रतिशत संवर्धनको तुलनामा यो प्राविधिक रूपमा केही चरण मात्र टाढा रहेको अमेरिकी दाबी छ। आणविक हतियार नभएका देशमध्ये यति उच्च स्तरमा संवर्धन गर्ने इरान एक मात्र देश भएको र थप संवर्धन गरिएमा हालको भण्डार धेरै आणविक हतियार बनाउन पर्याप्त हुन सक्ने अमेरिकाको भनाइ छ। साथै, आईएईएको सुरक्षा मापदण्ड पालना नगरेका कारण इरानको सेन्ट्रिफ्युजलगायत महत्त्वपूर्ण उपकरणको उत्पादन र भण्डारबारे निगरानीसम्बन्धी निरन्तर जानकारी प्रभावित भएको अमेरिकी पक्षको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *