युरोपका एक दर्जनभन्दा बढी विमानमा बमको धम्की, कैयौँ उडानको मार्ग परिवर्तन
एजेन्सी, २० कात्तिक । युरोपका विभिन्न देशमा बिहीबार एक दर्जनभन्दा बढी विमानमा बम राखिएको धम्की आएपछि कैयौँ उडानको मार्ग परिवर्तन गरी आकस्मिक अवतरण गराइएको छ । केही विमानलाई सैन्य लडाकु विमानले सुरक्षा दिँदै गन्तव्यसम्म पुर्याएका छन् ।
धम्कीपछि गरिएको सुरक्षा जाँचमा कुनै पनि विमानमा विस्फोटक वा शङ्कास्पद वस्तु फेला नपरेको अधिकारीहरूले बताएका छन् । बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले घटनालाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ भन्नुभएको छ ।
आयरल्यान्डको डब्लिनबाट इटालीको रोम जाँदै गरेको एर लिङ्गसको विमानलाई धम्कीपछि फ्रान्सको एभ्रुस्थित सैन्य हवाई अड्डामा अवतरण गराइएको थियो । विमान सुरक्षित अवतरण गरेपछि बम निष्क्रिय पार्ने विशेषज्ञ टोलीले जाँच गरेको थियो । घटनाबारे फ्रान्सेली उड्डयन सुरक्षा निकायले अनुसन्धान थालेको छ ।
त्यस्तै, हेलसिन्कीबाट रोम जाँदै गरेको फिनएयरको विमानलाई इटालीका वायुसेनाका लडाकु विमानले सुरक्षा दिएका थिए । कम्पनीका अनुसार उसका दुई उडानमा बम राखिएको भन्दै धम्की आएको थियो । दुवै विमान सुरक्षित अवतरण भएका छन् ।
बुल्गेरियाका लागि उडेका र्यानएयरका तीन विमानमा पनि धम्की आएपछि सैन्य विमानले सुरक्षा दिएका थिए । दुई विमान सोफिया र अर्को प्लोभ्दिभ विमानस्थलमा सुरक्षित अवतरण भएका थिए ।
चेक गणतन्त्रको प्राग विमानस्थलमा धम्की आएका चार विमानको जाँच गर्दा कुनै शङ्कास्पद वस्तु भेटिएन । पोल्यान्डको एलओटी एयरलाइन्स, इटालीको विज एयर र सर्बियाको एयर सर्बियाका उडानमा पनि यस्तै धम्की आएको थियो । ती विमानको जाँचमा समेत विस्फोटक पदार्थ फेला परेन ।
यसै साता युरोपका विभिन्न विमानमा यस्तै धम्की आएपछि उडानको मार्ग परिवर्तन र सुरक्षा जाँच गरिएको थियो । एकै दिन यति धेरै विमानलाई लक्षित गरी धम्की आउनुलाई असामान्य मानिएको छ ।
ब्रसेल्सस्थित ब्रुगेल थिङ्क ट्याङ्कका वरिष्ठ अनुसन्धानकर्ता ज्याकोब फङ्क किर्केगार्डले यस्ता धम्कीलाई युरोपेली सरकार र विमानस्थलका सुरक्षा निकायको प्रतिक्रिया परीक्षण गर्ने प्रयासका रूपमा व्याख्या गर्नुभएको छ । यसले हवाई यातायातको विश्वसनीयतामा अनिश्चितता सिर्जना गर्नुका साथै आर्थिक क्षति र उडान व्यवस्थापनमा असर पार्न सक्ने उहाँको भनाइ छ ।
युरोपेली सङ्घका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्तासले घटनाहरू आपसमा सम्बन्धित छन् वा छैनन् भन्ने निष्कर्षमा पुग्न हतार गर्न नहुने बताउनुभएको छ । घटनाबारे सम्बन्धित देशका निकायले अनुसन्धान गरिरहेका छन् ।
उड्डयन सुरक्षा विज्ञ फिलिप बाउमका अनुसार यस्ता धम्कीले विमानको सुरक्षा जाँच, उडान मार्ग परिवर्तन, चालकदलको समय व्यवस्थापन र यात्रुको कनेक्सन उडान छुट्नेजस्ता समस्या निम्त्याउँछन् । एउटा उडान अवरुद्ध हुँदा एयरलाइन्सलाई दुई लाख ५० हजार अमेरिकी डलरसम्म खर्च लाग्न सक्ने उहाँले बताउनुभएको छ ।
धम्की कसले दिएको हो, घटनाहरूबीच कुनै सम्बन्ध छ वा छैन र त्यसको उद्देश्य के हो भन्ने अझै खुल्न सकेको छैन ।
