घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन, २२ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।

आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो। यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा गन्तव्यतर्फ लागेका छन्। एकतर्फी सञ्चालनका क्रममा सवारीसाधनलाई आलोपालो गरी पठाइएको थियो।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो।

उक्त स्थानमा भित्तो नकाटिएको भए पनि माथिबाट आफैँ पहिरो खसेको उनले बताए। कमजोर भूभाग भएकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम भने कायमै रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *