कांग्रेस सहमहामन्त्री शिवाकोटी साइबर ब्युरोमा, कानून व्यवसायीलाई प्रवेशमा रोक

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोधपुछका लागि बोलाएको छ। ब्युरोको बोलावटपछि आइतबार दिउँसो १ः४० बजेदेखि उनी कार्यालयभित्रै रहेका छन्।

शिवाकोटीले आफूसँगै कानून व्यवसायीलाई पनि लैजान खोजे पनि प्रहरीले प्रवेशमा रोक लगाएको छ। आफू दुई घण्टादेखि साइबर ब्युरोमा रहेको र सोधपुछ भइरहेको उनले बताएका छन्।

पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा शिवाकोटीलाई सोधपुछका लागि बोलाइएको हो। ब्युरो स्रोतका अनुसार दुवै पक्षसँग छुट्टाछुट्टै सोधपुछ गरिएको छ भने सहमतिको प्रयाससमेत भइरहेको छ।

शिवाकोटीले सामाजिक सञ्जालमा पत्रकार खड्काको अभिव्यक्तिलाई लिएर टिप्पणी गरेका थिए। उनले प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले पनि जिम्मेवार ढंगले जवाफ दिनुपर्ने बताएका थिए।

पछिल्लो समय शिवाकोटीले सरकारका कामकारबाही, विधि र विधान मिचिएको तथा कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजिएको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आएका छन्। उनले कथित बिचौलिया इनम सापकोटा र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनका विषयमा पनि प्रश्न उठाएका छन्।

यसअघि गत साता पनि साइबर ब्युरोले शिवाकोटीलाई खोजेको थियो। त्यसबेला उनी धार्मिक यात्राका क्रममा भारतमा रहेकाले सम्पर्क हुन सकेको थिएन। साथीहरूमार्फत ब्युरोले खोजेको जानकारी पाएपछि उनले आफ्नो कार्यक्रम छोट्याएर गत बिहीबार काठमाडौं फर्किएको बताएका छन्।

तर त्यसपछि प्रहरीले सम्पर्क नगरेको उनको भनाइ छ। लक्ष्मीपूजाको दिन चाडपर्वकै बीच ब्युरोले बोलाएपछि उनी आइतबार कार्यालय पुगेका हुन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *