आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

म्याग्दी, २६ कात्तिक : म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको छ ।

विद्यालय परिसरमा आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ’ को गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

विद्यालयलाई आवासीय स्वरूपमा रूपान्तरण गर्ने, सूचना प्रविधिमैत्री शिक्षण सिकाइ सञ्चालन गर्ने, शैक्षिक गुणस्तर सुधार गर्ने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने लक्ष्यसहित महायज्ञ आयोजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष डेगबहादुर घर्ती क्षेत्रीले जानकारी दिनुभयो ।

महायज्ञबाट रु तीन करोड सङ्कलन गरी रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार महायज्ञ सुरु हुनुअघि नै रु ४० लाखभन्दा बढी सहयोग घोषणा भइसकेको छ ।

विपन्न तथा भौगोलिक रूपमा विकट क्षेत्रका विद्यार्थीलाई आवासीय सुविधा उपलब्ध गराई अतिरिक्त कक्षामार्फत सिकाइ उपलब्धि बढाउने विद्यालयको योजना छ । यसबाट बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि सहर बजार जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

कक्षा १ देखि १२ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल १९६ विद्यार्थी अध्ययनरत छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयले विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्दै आएको छ ।

महायज्ञका अवसरमा भागवत पाठ–पारायण, पूजाआजा, भजनकीर्तन, कलशयात्रा, आरती तथा झाँकी प्रदर्शनलगायत कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *