मुम्बईमा छठ पर्व मनाउँदै तमन्ना भाटिया, भक्तजनसँगै पूजामा सहभागी

मुम्बई । बलिउड अभिनेत्री तमन्ना भाटिया मुम्बईमा आयोजित छठ पूजा समारोहमा सहभागी हुनुभएको छ। उहाँले छठ पर्व मनाइरहेका भक्तजनसँग भेटघाट गर्दै पूजाका गतिविधिमा सहभागिता जनाउनुभएको हो।

अभिनेत्री भाटियाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छठ पूजाका क्रममा खिचिएका भिडियो सार्वजनिक गर्नुभएको छ। भिडियोमा उहाँ भक्तजनसँग अन्तरक्रिया गर्दै पर्वको उत्सवमा रमाइरहेको देखिनुभएको छ।

भिडियो सार्वजनिक गर्दै उहाँले भक्तजनबाट प्राप्त माया र स्नेहप्रति आभार व्यक्त गर्नुभएको छ। साथै, छठी माताको आशीर्वाद सबैमा कायम रहोस् भन्ने कामना गर्नुभएको छ।

उहाँले लेख्नुभएको छ, ‘देवीको आशीर्वाद र तपाईंहरू सबैको माया रहिरहोस्। छठी माताको कृपा सधैँ कायम रहोस्। छठी माताको जय।’

तमन्ना हालै चलचित्र ‘द भ्वान : फोर्स अफ द फरेस्ट’ मा देखिनुभएको थियो। उक्त चलचित्रमा समावेश छठ पूजासम्बन्धी दृश्य र गीतले दर्शकको मन जितेको थियो। चलचित्रले मिश्रित प्रतिक्रिया पाए पनि छठ पर्वको चित्रण गरिएको गीतले भने विशेष चर्चा पाएको थियो।

विशाल मिश्रले संगीत संयोजन तथा रचना गर्नुभएको उक्त गीतका शब्द कौशल किशोरले लेख्नुभएको हो। गीतले छठ पर्वसँग जोडिएका दर्शकका व्यक्तिगत अनुभव, पारिवारिक परम्परा र सांस्कृतिक भावनालाई स्मरण गराएको थियो।

छठ पूजाको महत्व बुझेर छायांकनमा सहभागी भएकी तमन्ना

चलचित्रको प्रचारप्रसारका क्रममा तमन्नाले छठ पूजासम्बन्धी दृश्यको छायांकन गर्नुअघि आफूले यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्वबारे अध्ययन गरेको बताउनुभएको थियो।

उहाँका अनुसार छठ पूजाप्रति आफूमा पहिलेदेखि नै गहिरो श्रद्धा थियो। गीतको छायांकन सुरु गर्नुअघि उहाँले बिहार र पटनामा छठ पूजा कसरी मनाइन्छ तथा यसका धार्मिक विधि र परम्पराको महत्व के छ भन्ने विषयमा जानकारी लिनुभएको थियो।

‘छठ पूजाको शक्ति र यसको महत्वबारे थाहा पाउँदा म निकै प्रभावित भएँ। छठी मातासँग आफूले महसुस गरेको आत्मीय सम्बन्धलाई शब्दमा व्यक्त गर्न सक्दिनँ,’ उहाँले भन्नुभएको थियो।

तमन्नाका अनुसार ‘द भ्वान’ चलचित्रको महत्वपूर्ण पक्षमध्ये छठ पूजा पनि एक हो। यस पर्वको धार्मिक र सांस्कृतिक पक्षलाई बुझेर त्यसको हिस्सा बन्न पाउनु आफ्ना लागि विशेष अनुभव भएको उहाँले बताउनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *