साउदी अरबको राजधानी रियादमा ड्रोन आक्रमण, तीन नेपालीसहित ११ जना घाइते

 

काठमाडौं, ९ मंसिर । साउदी अरबको राजधानी रियादस्थित किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा ड्रोन आक्रमण हुँदा तीन नेपालीसहित ११ जना घाइते भएका छन् ।

मंगलबार साउदी अरबको नागरिक सुरक्षा विभागले वित्तीय क्षेत्रमा रहेको एक भवनमा हुथी लडाकुहरूले गरेको आक्रमणमा ११ जना घाइते भएको जनाएको हो ।

विभागका अनुसार घाइते हुनेमा साउदी अरबका दुई, नेपालका तीन, भारतका दुई र इजिप्टका चार नागरिक छन् । घाइतेहरूको उपचार भइरहेको छ भने उनीहरूको विस्तृत परिचय खुलाइएको छैन ।

रियादस्थित उक्त भवनमा एक साताभित्र भएको यो दोस्रो आक्रमण हो । यसअघि नोभेम्बर १९ मा पनि सोही भवनलाई निशाना बनाइएको थियो । पहिलो आक्रमणबाट भवनमा क्षति पुगे पनि मानवीय क्षति भएको खबर आएको थिएन ।

यसैबीच, साउदी अरबले हुथी लडाकुहरूलाई सर्वसाधारण र उनीहरूको सम्पत्तिलाई लक्षित गरी गरिने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *