विद्यालय पाठ्यक्रममा एआई र जीवनोपयोगी सीप समेटिने
काठमाडौँ, १० मङ्सिर । विद्यालय तहको पाठ्यक्रममा कृत्रिम बौद्धिकता (एआई), सूचना प्रविधि, सीपमा आधारित शिक्षा र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ।
‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका क्रममा ‘ब्यागलेस डे’, ‘बुक फ्री फ्राइडे’, नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन र सूचना प्रविधिको नैतिक प्रयोगजस्ता विषय समेट्ने तयारी गरिएको हो।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयअनुसार प्रा. डा. बालचन्द्र लुइँटेलको संयोजकत्वमा गठित १९ सदस्यीय कार्यदलले पाठ्यक्रम परिमार्जनको काम अघि बढाएको छ।
कार्यदलका सदस्यसचिव एवं पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार पाठ्यक्रम परिमार्जनका लागि विभिन्न माध्यमबाट करिब एक लाख ५० हजार सुझाव प्राप्त भएका छन्।
कार्यदलले प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम प्रारूप तयार गर्नेछ। यसका लागि १२ वटा विषयगत समूह गठन गरी सुझाव सङ्कलन गरिएको छ।
पाठ्यक्रममा डिजिटल साक्षरता, व्यावसायिक तथा रोजगारीमुखी शिक्षा, शिक्षकको व्यावसायिक विकास, विद्यार्थी परामर्श, खेलकुद र विपद् व्यवस्थापनलाई समेत प्राथमिकता दिइनेछ।
शैक्षिक क्षेत्रका जानकार वासुदेव काफ्लेले मूल्याङ्कन प्रणालीलाई वास्तविक सिकाइमा आधारित, समावेशी र तनावमुक्त बनाउनुपर्ने सुझाव दिनुभएको छ। उहाँले शिक्षकप्रति विश्वास गर्ने मूल्याङ्कन प्रणाली र प्रभावकारी शिक्षक सहायता व्यवस्था आवश्यक रहेको बताउनुभयो।
