राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ बजारबाट खिच्दै
काठमाडौँ, ११ मङ्सिर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।
केन्द्रीय बैंकले ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल हुनेछ।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। निक्षेपको ब्याजदर बोलकबोलबाटै निर्धारण गरिनेछ।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी तोकिएको मितिमा गरिनेछ।
