३४ वर्ष अघि चौथो महाधिवेशन भएको यहि घर जहाँ हुँदैछ एमालेको सचिवालय बैठक

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ ।
तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा सोही ठाउँमा स्मारकको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको बताउनुभयो । ‘उक्त महाविधेशनबाट पार्टीले निरङ्कुश राजतन्त्रको विरुद्ध कम्युनिष्ट एक भएर संयुक्त जनआन्दोलनमा सहभागी हुने निर्णय गरेको थियो । सोही महाधिवेशनले नै पुष्पलालले अगाडि सारेको संयुक्त आन्दोलनलाई महासचिवमा निर्वाचित भएपछि मदन भण्डारीको नेतृत्वमा कार्यान्वयन गरिएको थियो’, उहाँले भन्नुभयो, ‘महाधिवेशन भएको ऐतिहासिक ठाउँको महत्त्व दर्शाउन यसपटक सिराहामा सचिवालय बैठक गर्ने निर्णय गरेको हौँ ।’

तत्कालीन मालेको चौथो महाधिवेशन विसं २०४६ भदौ ९ देखि १४ गतेसम्म विष्णुपुरकट्टीमा भएको थियो । सोही महाधिवेशनमा महासचिवमा मदन भण्डारी निर्वाचित हुनुभएको थियो । महाधिवेशनको सम्झनामा ३४ वर्षपछि एमालेले सोही ठाउँमा पार्टीको सचिवालय बैठक राखेको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि नेकपा (माले) द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ठिक ३४ वर्षपछि त्यसै दिन र त्यसै हलमा नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बस्ने तयारी हुँदैछ भन्दै ३४ वर्षअघि महाधिवेशन भएको पुरानो घरको तस्बिर सार्वजनिक गर्नुभएको छ । ‘इतिहास र वर्तमानलाई जोड्ने तथा बिरासतलाई अझ सुदृढ गर्ने हाम्रो प्रयास।’ उहाँले तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेख्नुभएको छ ।