बिनापास चलेका सरकारी गाडीको निगरानीमा युवा संघ सडकमा, कलंकीमै भेटिए बिनापासका १५ सवारी
काठमाडौं, २० भदौ । सार्वजनिक बिदाका दिन सरकारी साधनको दुरुपयोग न्युनिकरणका लागि युवा संघ नेपालले ट्राफिक प्रहरीको सहयोगमा अभियान सञ्चालन सुरु गरेको छ । राष्ट्रिय युवा संघ नेपालको साइबर सर्कल विभागको अगुवाईमा आज उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक प्रहरीसँगको सम्वन्वयमा युवा संघले सार्वजनिक बिदाका दिन सरकारी साधनको दुरुपयोग न्युनिकरण अभियान चलाएको हो ।
युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अगुवाइमा आज कलंकीबाट मात्रै विनापासका १३ वटा सरकारी गाडी र २ वटा मोटरसाईकल ट्राफिक प्रहरीलाई बुझाएको युवा संघ नेपालका साइबर सर्कल प्रमुख अजित लामाले जानकारी दिनुभयो ।
उहाँले देशभर यस्ता विकृति र विसंगतिविरूद्ध युवा संघले कडा कदम चाल्ने भन्दै नियन्त्रण अभियान सुरू गरको जानकारी दिनुभयो । युवा संघले आज काठमाडौंको कलंकी, बालाजु, बानेश्वर र भक्तपुरको सूर्यविनायक,, जगाती र ललितपुरका विभिन्न स्थानमा यो अभियान सञ्चालन गरेको जानकारी लामाले दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटी अध्यक्ष दिपेश सुधाकारले बिना पास सरकारी सवारी साधन चलाउने १३ वटा सवारी साधन र दुइटा मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको बताए। युवा संघले चलाएको अभियानमा प्रहरीले पनि समन्वय गरिरहेको युवा संघले जानकारी दिएको छ । कलंकीको अभियानमा प्रहरी वृत्त कालिमाटीका डिएसपी नरहरि अधिकारी र ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल पनि हुनुहुन्थ्यो ।
कलंकीमा चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरीको गाडीलाई समेत युवासंघले रोकेर सोधपुछ गरेको थियो । उहाँ पाससहित हिडेकाले छाडिदिएको युवासंघले जानकारी दिएको छ । ‘हामीले कानुन हातमा लिन खोजका होइनौँ,’ लामाले भन्नुभयो, ‘विकृति, विसंगतिको अन्त्यका लागि सम्बन्धित निकायलाई सहयोग गरेका हौँ ।’