एमाले मुख्यालयमा चुनावी रौनकः कार्डको विस्कुनदेखि सांगीतिक माहोलसम्म (भिडियो रिपोर्ट)
काठमाडौं, १२ असोज । नयाँ नेतृत्व छनोटका लागि असोज ८ गते निकै धुमधामका साथ उद्घाटन भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आज उद्घाटनको पाँच दिन वितिसक्दा पनि मतदान अझै हुन सकिरहेको छैन । भृकुटी मण्डपमा उद्घाटन भएपछि प्रज्ञा प्रतिष्ठानको हलमा बन्द शत्र भएको एमाले बागमतीको चुनावी प्रक्रिया भने एमाले मुख्यालय च्यासलमा गर्ने भनेर ल्याइएको थियो ।
असोज ८ र ९ गते राजधानी काठमाडौंमा सम्पन्न गर्ने भनिएको अधिवेशन आज १२ गतेसम्म पनि सम्पन्न हुन सकिरहेको छैन । अध्यक्ष उपाध्यक्ष, सचिव, उपसचिवसहितका पदमा आवश्यक भन्दा बढी उम्मेदवार देखिएपछि नेतृत्वले सर्वसम्मतको प्रयासमा चुनावी प्रक्रियालाई धकेल्दै लगेको छ ।
बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिका रुपमा आएका कार्यकर्ताहरु चुनावी प्रक्रिया लम्बिएसँगै तीन दिनदेखि एमाले मुख्यालयमै विभिन्न गतिविधि गर्दै चुनावी प्रक्रियाको प्रतिक्षामा बस्न थालेका छन् ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली भन्दै पटक–पटक नामावली प्रकाशन गर्दै आएको छ । तर, निर्वाचन अझै कतिबेलाबाट सुरु हुने हो भन्ने कुनै निश्चित नभएपछि मतदाताहरु आ–आफ्नो उम्मेदवारको पक्षमा माहोल ल्याउन थालेका छन् । एमाले मुख्यालयमा निर्वाचन कुर्दाकुर्दै दिक्क बनेका केही कार्यकर्ता एमाले मुख्यालयको चौरमा कार्डको विस्कुन लगाएर समय विताउँन थालेका छन् भने केही कार्यकर्ता आफ्ना उम्मेदवकारको पक्षमा माहोल ल्याउन कार्ड भिरेर मत मागिरहेका छन् ।
असोजको चर्को घामको समेत प्रवाह नगरी गीत संगितका माध्ययमबाट पनि कार्यकर्ताहरु चुनावी माहोल तताई रहेका छन् । अहिले एमाले मुख्यालयका चौर, भित्ता, झ्याल, ढोका सबैतिर चुनावी प्रचारका सामग्रीले अनौठो देखिएको छ । सर्वसम्मतको प्रयास भन्दै अधिवेशन लम्ब्याए पनि अन्तिममा अध्यक्षका लागि दुई प्रतिस्पर्धामा मैदानमा रहेका छन् ।
पाँच जनाले अध्यक्ष पदमा उम्मेदवारी दिए पनि केशव पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएपछि अब कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको हो । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच प्रतिस्पर्धा छ भने सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच प्रतिष्पर्धा छ ।
दुई सचिवका लागि खड्गबहादुर खत्री, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ, रीता गौतम ढकाल गरी ९ जनाको उम्मेदवारी परेको छ । गंगादेवी श्रेष्ठ, ठाकुरप्रसाद गजुरेलले भने फिर्ता लिनु भएको छ ।