पर्यटन प्रवर्द्धन र स्थानीय उद्योगको विकासमा टेम्केमैयुङ गाउँपालिकाको विशेष जोड

भोजपुर, २७ असार । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गसहित समग्र पर्यटन क्षेत्रको दिगो विकासका लागि ‘समुदायमा आधारित पर्यटन नीति २०८३’ पारित गरेको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले पर्यटन, कृषि र स्थानीय उद्योगलाई प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम ल्याएको हो ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार यस नीतिले मुन्दुम पदमार्गका साथै पालिकाभित्रका अन्य सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूको योजनाबद्ध विकास, पूर्वाधार विस्तार र प्रवर्द्धनमा टेवा पुर्‍याउनेछ । अध्यक्ष बस्नेतले भन्नुभयो, ‘पर्यटकीय स्थलहरूको पहिचान, संरक्षण र पूर्वाधार विकासमार्फत स्थानीयस्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने हाम्रो मुख्य लक्ष्य रहेको छ ।’

पर्यटनसँग प्रत्यक्ष जोडिएका स्थानीय उत्पादनहरूको प्रवर्द्धन र साना तथा घरेलु उद्योगलाई थप व्यवस्थित बनाउन गाउँसभाले ‘स्थानीय मदिरा उत्पादन, बिक्री तथा नियन्त्रण सम्बन्धी विधेयक’ समेत पारित गरेको छ । यसले स्थानीय उत्पादनलाई कानुनी रूपमै ब्रान्डिङ गरी आर्थिक लाभ लिन सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

पालिकाले विशेष गरी महिला तथा युवा वर्गलाई स्वरोजगार र आयआर्जनसँग जोड्ने गरी विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा ल्याउने जनाएको छ । यसका साथै, कृषि उत्पादनमा वृद्धि ल्याउन गाउँसभाले ‘सिँचाइ विधेयक’ पनि पारित गरेको छ ।

प्रशासनिक एवं विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाएको यस गाउँपालिकाले चालु आर्थिक वर्षमा ८७.०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । पर्यटन र कृषिलाई मेरुदण्ड मानी अघि बढेको टेम्केमैयुङले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी समृद्धिको लक्ष्य राखेको छ ।