कर्णाली नदीमा गाडी खसेको घटना : बेपत्ता चारमध्ये तीन जनाको शव फेला
काठमाडौँ, असार २७ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली नदीमा खसेर बेपत्ता भएका चार जनामध्ये तीन जनाको शव फेला परेको छ । गत असार १८ गते भएको उक्त दुर्घटनाको नौ दिनपछि बिहीबार थप एक जनाको शव भेटिएसँगै मृतक तीन जनाको पहिचान खुलेको हो ।
दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवणकुमार विकका अनुसार आज अछामको तुर्माखाँद गाउँपालिका २, जमगडास्थित कर्णाली नदीको किनारमा सुर्खेत पञ्चपुरी नगरपालिका ८ माझिगाउँका तुलाराम सुवेदीको शव फेला परेको छ ।
यसअघि खोजी कार्यका क्रममा कालिकोटको पचालझरना गाउँपालिका ९ का ६२ वर्षीय मेखे तिरुवा र रास्कोट नगरपालिका २ खड्कागाउँकी १८ वर्षीया सिर्जना खड्काको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी बेपत्ता भएका तुलारामका सहोदर भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदी र दुर्घटनाग्रस्त फोर्स गाडी भने अझै फेला पर्न सकेका छैनन् । बेपत्ता व्यक्तिको खोजी तथा नदीमा डुबेको गाडी पत्ता लगाउन सशस्त्र प्रहरी बलको गोताखोर टोली, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली निरन्तर परिचालन भइरहेको छ ।