सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा तनाव, दुई जना पक्राउ

काठमाडौं, १४ असाेज । काठमाडाैंकाे सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएकाे छ ।

आइतबार काठमाडौँ मेडिकल कलेजका डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका हुन् ।

प्रहरीले डाक्टर माथि हातपात गरेकाे आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो । बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै आफूमाथि कुटपिट भएको खड्काले बताएका छन् ।

डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको बताइएको छ ।