काठमाडौँलाई आरोग्य सहर बनाउन नागरिक तहमा नेतृत्व विकास गराउँदै कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ,  भदौ २७ । काठमाडौँ महानगरपालिकालाई ‘आरोग्य सहर’का रूपमा विकास गर्न टोल-टोलमा निःशुल्क योग तथा ध्यान केन्द्रहरू सञ्चालन गरिने भएको छ । यस अभियानलाई मूर्तरूप दिन काठमाडौँ महानगरपालिका र जीवन विज्ञान प्रतिष्ठानबिच ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने विषयमा सेवामा आधारित समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिकाको १९ औँ नगर सभाले स्वीकृत गरेको नीति अनुसार आयुर्वेद, योग, ध्यान र वैकल्पिक चिकित्साका माध्यमबाट नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्न यो कार्यक्रम ल्याइएको हो । समझदारी पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रतिष्ठानका तर्फबाट अध्यक्ष देवी शर्माले हस्ताक्षर गर्नुभयो ।

नागरिक सहभागिता र नेतृत्वमा जोड
सम्झौतापछि बोल्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले आरोग्यता निर्माणको नेतृत्व महानगरले लिएको भए पनि यसलाई सफल बनाउन हरेक नागरिकको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो संस्था विशेषको कार्यक्रम होइन, यो प्रत्येक व्यक्तिलाई आफ्नै स्वास्थ्यको नेतृत्व तहमा पुर्‍याउने अभियान हो । आफू, आफ्नो परिवार र टोललाई स्वस्थ बनाउन हरेक नागरिकले यसलाई ‘मेरो कार्यक्रम’ ठानेर अपनत्व ग्रहण गर्नुपर्छ ।”

सरकारले सन् २०२७ लाई ‘आरोग्य वर्ष’का रूपमा मनाउने तयारी गरिरहेका बेला महानगरले सन् २०२६ (वि.सं. २०८३) देखि नै यो वृहत् अभियान सुरु गरेर राष्ट्रिय लक्ष्यलाई सघाउने लक्ष्य राखेको डंगोलले स्पष्ट पार्नुभयो । चिन्तालाई चिन्तनमा र आलोचनालाई स्वअध्ययनमा बदल्दै सकारात्मक समाज निर्माण गर्न यो अभियान कोसेढुङ्गा सावित हुने उहाँको विश्वास छ ।

आरोग्यताका पाँच आयाम
महानगरबासीको सर्वाङ्गीण हितका लागि यो कार्यक्रम मुख्य पाँच आयाममा केन्द्रित हुनेछ ।

१. शारीरिक आरोग्यता : स्वस्थ जीवनशैली, व्यायाम, पोषण र रोग रोकथाम 
२. मानसिक आरोग्यता : तनाव व्यवस्थापन, ध्यान, सजगता र सकारात्मक सोच 
३. ऊर्जागत आरोग्यता : प्राणायाम, श्वासप्रश्वास र जीवन शक्तिको विकास 
४. भावनात्मक आरोग्यता : प्रेम, करुणा, आनन्द र स्वस्थ सामाजिक सम्बन्ध 
५. बौद्धिक आरोग्यता : विवेक, सिर्जनशीलता, निर्णय क्षमता र जिम्मेवार नागरिकको विकास 

टोल-टोलमा सेवा र विद्यालयमा पहुँच
समझदारी अनुसार महानगरभित्रका विभिन्न टोलमा स्थानीयको माग र वडाको सिफारिसमा नयाँ आरोग्य प्रयोगशालाहरू स्थापना गरिनेछ । यसका लागि आवश्यक स्थान र भौतिक पूर्वाधार महानगरपालिकाले उपलब्ध गराउनेछ भने दक्ष प्रशिक्षक तथा प्राविधिक सहयोग जीवन विज्ञान प्रतिष्ठानले बेहोर्नेछ ।

जीवन विज्ञानका संस्थापक एल.पी. भानु शर्माले आगामी १० वर्षभित्र प्रत्येक महानगरबासी आफैँमा प्रशिक्षक सरह बन्ने गरी कार्यक्रम अगाडि बढाइने बताउनुभयो । त्यस्तै, अर्का संस्थापक रमेश नेपालले देखिने शरीरसँगै नदेखिने शरीर (मन र विचार) लाई स्वस्थ राख्न यो अभियानले मद्दत गर्ने उल्लेख गर्नुभयो ।

यो कार्यक्रम टोलमा मात्र सीमित नभई सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पनि सञ्चालन गरिनेछ । विशेष गरी ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि लक्षित कार्यक्रमहरू ल्याइने सम्झौतामा उल्लेख छ । कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न र नियमित अनुगमनका लागि दुवै पक्षका प्रतिनिधि रहने गरी एक ‘आरोग्य कार्यदल’ समेत गठन गरिएको छ ।

आधुनिक जीवनशैलीले निम्त्याएको मानसिक आघात र स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्दै काठमाडौँलाई मानवीयता र आरोग्यतामा आधारित सुन्दर सहर बनाउने लक्ष्य यस सहकार्यले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *