देवतीर्थ जहाँ स्नान गर्नाले रिस नष्ट हुन्छ
काठमाडौंका सबैभन्दा महत्वपूर्ण धार्मिकस्थलहरु मध्ये पशुपतिनाथ पनि एक हो । काठमाडौंको स्थानीय जनजीवनमा पशुपतिनाथको ठूलो धार्मिक, सांस्कृतिक प्रभाव रहेको छ । दशैंमा मनाइने नवरात्रिको सातौं दिन पशुपति क्षेत्रमै रहेको देवतीर्थमा मेला जाने गरिन्छ ।
पशुपतिनाथ आफै नेपालको धार्मिक–सांस्कृतिक रुपले महत्वपूर्ण धाम हो । अतः यो धामसँग जोडिएको तीर्थमा गरिने मेलाको पुण्यलाभ महत्वपूर्ण नै हुनेछ । यो तीर्थमा स्नान गर्नाले रिसराग जस्ता समस्याबाट मुक्ति मिल्ने विश्वास गरिन्छ ।
देवतीर्थको यो दोभानमा बागमती र मारदायनी नदी एक आपसमा मिसिएको हुन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘न्हवं घाट’ पनि भनिन्छ ।
नवरात्रिका दिन यो तीर्थमा स्नान गरिसकेपछि पीठका रुपमा बछलामाईको दर्शन गर्ने र महादेवका रुपमा पशुपतिनाथलाई नै अर्घ दिने गरिन्छ । श्री बछलामाईलाई काठमाडौंका सबै मातृका देवीहरुभन्दा जेठी मातृकाका रुप सम्मान गर्ने गरिन्छ ।
त्यस्तै श्री पशुपतिनाथ सनातनकालदेखि नै नेपालको धार्मिक इतिहासमा केन्द्रमा रहँदै आएको धाम हो । नवरात्रिको सातौं दिन बछलामाई र पशुपतिनाथ जस्ता अत्यन्त महत्वपूर्ण देवी देवताको पनि दर्शन गर्न जाने भएकोले आजको तीर्थाटन अत्यन्त महत्वपूर्ण रहेको स्पष्ट छ ।
बागमती नदी काठमाडौंको मुख्य नदी भएता पनि अहिले ठाउँठाउँमा अतिक्रमणका कारण यो नदी पनि फराकिलो ढल जस्तै बग्न थालेको पाइन्छ । तर पशुपति क्षेत्रमा बग्ने बागमती नदीलाई माथि नै प्रशोधन गर्ने भएकोले त्यहाँको पानी भने त्यति फोहोर भएको पाइँदैन ।
पशुपति क्षेत्रको नदी, घाट, तीर्थको संरक्षणमा विभिन्न निकायहरु संलग्न रहँदै आएको छ । यसले गर्दा अन्य तीर्थको तुलनामा यो तीर्थको संरक्षण र संवद्र्धन राम्रो देखिन्छ ।