वीरगञ्ज जाँदै गरेको बस बारामा दुर्घटना, एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडाैं, १२ कात्तिक । चितवनबाट वीरगञ्ज जाँदै गरेको बस बारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

चितवनबाट वीरगञ्जका लागि छुटेकाे ना७ख ४७४९ नम्बरको बस शनिबार राति जितपुर उपमहानगरपालिका-२ सिमरा चोकमा दुर्घटना हुँदा भारतको मोतिहारी घर भई वीरगञ्ज बस्दै आएका २७ वर्षीय मुकेश साहको मृत्यु भएको हो ।

दुर्घटनामा घाइँते हुनेहरूमा बाराको कलैया उपमहानगरपालिका-२० का ४५ वर्षीय वीरबहादुर महतो, पर्साको वीरगञ्ज महानगरपालिका-८ का ३० वर्षीय सुरज साह कानु, सोही ठाउँका १८ वर्षीय प्रिया गुप्ता, १६ वर्षीया मनिषा साह र २८ वर्षीय मोहन साह रहेका छन् ।

यस्तै वडानम्बर १२ बस्ने २३ वर्षीया सेजल गुरुङ, सोही ठाउँका ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजनकुमार गुप्ता, बाराको कलैया-७ का १८ वर्षीय प्रसाद गुप्ता, सोही ठाउँका ३५ वर्षीय अविनाश गुप्ता र बारा जितपुरसिपरा उपमहानगरपालिका-२ का १९ वर्षीय अनिष राई पनि घाइते भएका छन् । उनीहरू मध्ये वीरबहादुर र सुरज साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकललाई बचाउन खोज्दा अनियन्त्रित भई बस दुर्घटना भएको पाइएको जनाएकाे छ ।