शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै अनेरास्वियुले गर्याे एनसेलकाे मुख्यालयमा प्रदर्शन

काठमाडौं, १९ मंसिर । अनेरास्ववियुले एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै एनसेलकाे मुख्यालय लैनचाैरमा विराेध प्रदर्शन गरेको छ।

मलेसियाको आजियाटा कम्पनीले ८० प्रतिशत शेयर नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई बिक्री गर्दा चलखेल गरेको भन्दै नेकपा एमाले निकट भ्रातृसंगठन अनेरास्ववियुले एनसेलकाे मुख्यालय अगाडि विराेध प्रदर्शन गरेको हाे ।

प्रदर्शनमा सहभागी अनेरास्वियुले ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’, ‘विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर’, ‘नीतिगत भ्रष्टाचार गर्न पाइँदैन’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् ।

टेलिकम सेवा प्रदायक संस्था एनसेलकाे शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै प्रदर्शनकारीहरूले एनसेलकाे सिमकार्ड जलाउनुका साथै आफ्ना मागहरू पूरा नभए एनसेलका गाडीहरू समेत चल्न नदिने जनाएका छन्।