प्रधानन्यायाधीश सिफारिसप्रति पूर्वप्रधानन्यायाधीश कार्कीको आक्रोश : ‘अब बालेनकी श्रीमतीलाई आमा भन्नू’
काठमाडौँ, २६ वैशाख । प्रधानन्यायाधीश सिफारिस प्रकरणलाई लिएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कडा आक्रोश व्यक्त गर्नुभएको छ।
चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरिएपछि वर्तमान सरकार र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग उहाँ नराम्ररी चिढिनुभएको हो।
यसअघि प्रधानमन्त्री शाहलाई ‘छोरा’ सरह स्नेह दिने गर्नुभएकी कार्की र शाहबीचको सम्बन्धमा यो निर्णयसँगै गम्भीर दरार आएको देखिएको छ। वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ललाई पाखा लगाएर डा. मनोजकुमार शर्मालाई सिफारिस गरिएपछि कार्कीले सार्वजनिक रूपमै आफ्नो असन्तुष्टि पोख्नुभएको हो।
शनिबार एक कार्यक्रमका क्रममा आफूलाई ‘आमा’ भनेर सम्बोधन गर्ने पत्रकारलाई उहाँले कडा जवाफ दिनुभयो। युट्युबर वीरेन्द्र साहले ‘आमा दर्शन’ भन्दै माइक तेर्स्याएपछि कार्कीले आक्रोशित हुँदै भन्नुभयो, “को हो आमा भन्ने? तिमीहरूको आमा फेरिइसक्यो। म मेरो बच्चाको मात्रै आमा हुँ।”
साहले पुनः ‘तपाईं देशकै आमा हो’ भन्दै फकाउन खोज्दा कार्कीले झर्कँदै भन्नुभयो, “मलाई होइन, अब बालेनकी श्रीमतीलाई आमा भन्नू।”
संवैधानिक परिषद्ले विधि र वरीयता मिचेर कनिष्ठ न्यायाधीशलाई न्यायलयको बागडोर सुम्पिन खोजेको भन्दै कार्कीले यसअघि नै विरोध जनाइसक्नुभएको छ। उहाँको यो पछिल्लो अभिव्यक्तिले प्रधानमन्त्री शाह र उहाँबीचको संवादहीनता र तिक्ततालाई छताछुल्ल पारेको छ।