सप्तरीमा भीषण आगलागी : ६ परिवारका १२ घरगोठ जलेर नष्ट, ४५ लाखको क्षति
काठमाडौँ, वैशाख २७ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, वभनगामा टोलमा गएराति भएको भीषण आगलागीमा परी ६ परिवारका १२ वटा घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
स्थानीय रामअवतार यादवको गाईगोठमा लामखुट्टे भगाउन बालिएको घुर (आगो) बाट अचानक सल्केको आगोले छिमेकीका घरहरूमा समेत ठुलो क्षति पुर्याएको हो। स्थानीय रामनाथ यादवका अनुसार आगलागीबाट रामअवतार यादव, जुगाइ यादव र अनिल यादवका समान ३-३ वटा (घर र गोठ) तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक-एक वटा घर जलेर नष्ट भएका छन्।
क्षतिको विवरण
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर र नगद गरी करिब ४५ लाख रुपियाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगो नियन्त्रण
आगलागी सुरु भएलगत्तै स्थानीय बासिन्दा, हनुमाननगर कङ्कालिनी नगरपालिकाको दमकल र मधेस प्रदेश प्रहरी तालिम केन्द्र, राजविराजबाट खटिएको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय र पशु चौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ ।