देशका विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, वैशाख २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिन अनुसार आज देशका पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका थोरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको आकलन गरिएको छ ।

आज रातिको मौसमबारे जानकारी दिँदै विभागले कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ। रातिको समयमा कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै कोशीकै तराई र अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। मेघगर्जन र चट्याङ्गका कारण हुन सक्ने जोखिमबाट बच्न र मौसम अनुसारको पूर्वतयारी गर्न सर्वसाधारणमा आग्रह गरिएको छ ।