सबै सरकारी कार्यालय र शैक्षिक संस्थामा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ मनाइने : मार्गनिर्देशन जारी
काठमाडौँ, वैशाख २६ । आगामी सोमबारदेखि देशैभरका सरकारी कार्यालयहरूमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गरिने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायका साथै शैक्षिक संस्थाहरूमा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्ने उद्देश्यले आगामी जेठ १ गतेसम्म यो अभियान सञ्चालन गर्न लागिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यका अनुसार यस अभियानलाई व्यवस्थित रूपमा सम्पन्न गर्न ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३’ समेत जारी गरिएको छ । सरसफाइ सप्ताह सफल बनाउन सरकारले सबै तहका कार्यालयहरूलाई पत्राचार गरिसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट यस सप्ताहको औपचारिक शुभारम्भ गरिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । सोही समयमा देशभरका सबै अस्पतालहरूमा पनि सरसफाइ अभियानको सुरुवात हुने र सप्ताहभरि नै सक्रिय रूपमा सरसफाइ कार्यमा सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ ।
अभियानलाई वस्तुनिष्ठ र प्रभावकारी बनाउन मार्गनिर्देशनमा विभिन्न मापन सूचकहरू तोकिएका छन् । जसमा कार्यालय तथा शौचालयको स्वच्छता, शैक्षिक संस्था र सार्वजनिक स्थलको सरसफाइ, क्यान्टिन तथा भान्साघरको व्यवस्थापन, फोहरमैलाको उचित विसर्जन, सेवाग्राहीको अनुभव र संस्थागत दिगोपन जस्ता विषयहरूलाई अनिवार्य सूचकका रूपमा समावेश गरिएको छ ।
यो अभियानले सरकारी संयन्त्रभित्र सरसफाइसम्बन्धी सकारात्मक आचरण र संस्कृतिको विकास गर्ने सरकारको अपेक्षा रहेको छ ।