सिमानामा हात्तीको ताण्डव : बाहुनडाँगीका बासिन्दालाई रातभरि सास्ती, दिनभरि त्रास
काठमाडौँ, वैशाख २७ । झापाको मेचीनगर-४, बाहुनडाँगीका किसान यतिबेला दोहोरो मारमा छन् । एकातिर खेतमा पाकेको मकै र लहलहाउँदो सुपारी स्याहार्ने चटारो छ भने अर्कोतिर ती बाली जोगाउन ज्यानकै बाजी थापेर रातभर जाग्राम बस्नुपर्ने बाध्यता ।
विगत एक सातादेखि भारतको आसामबाट आएको करिब १०० वटा जङ्गली हात्तीको बथान नेपाल-भारत सीमावर्ती जङ्गलमा डेरा जमाएर बसेको छ। दिनभरि सीमापारि सुस्ताउने यो बथान साँझ पर्न थालेपछि भने आक्रामक रूपमा बाहुनडाँगी बस्ती छिर्ने गर्छ । बथानबाट छुट्टिएका ३० देखि ४० वटा हात्तीले हरेक रात मेचीनगरका वडा नं. १, ४ र ५ मा आतङ्क मच्चाउँदै आएका छन् ।
पाकेको बाली भित्र्याउनै मुस्किल
यसपटक हात्तीको निशानामा पाक्न लागेको मकै र नगदे बालीका रूपमा रहेको सुपारी परेको छ। स्थानीय बासिन्दा गोपी रिजालका अनुसार हात्तीले मकैबाली सखाप पार्ने मात्र होइन, सुपारीका बोटहरू नै भाँचेर सोत्तर बनाइदिने गरेको छ। “बाली जोगाउन जाँदा ज्यानकै जोखिम छ, नजाउँ त वर्षभरि खाने अन्न आँखाकै अगाडि हात्तीले खाइदिन्छ,” उहाँले दुखेसो पोख्नुभयो ।
केही महिनायता मात्र हात्तीको आक्रमणबाट बाहुनडाँगीमा तीन जना गम्भीर घाइते भइसकेका छन् भने १५ वटा घरमा क्षति पुगेको छ । यसले गर्दा स्थानीयमा कुन बेला हात्तीले ओत लाग्ने बास नै भत्काइदिने हो भन्ने चिन्ता थपिएको छ ।
प्रविधि र संयन्त्र पनि कमजोर
हात्तीलाई बस्ती छिर्नबाट रोक्न बाहुनडाँगीको सीमा क्षेत्रमा १८ किलोमिटर लामो सौर्य (सोलार) तारबार लगाइएको छ। तर, एक दशक पुरानो भइसकेको यो प्रविधि अहिले काम नलाग्ने अवस्थामा पुगेको छ। कतिपय ठाउँमा ब्याट्री चोरी भएका छन् भने कतै मेसिन बिग्रिएका छन् ।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीका अनुसार यो तारबार मर्मतका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र नगरपालिकाले ३० लाख रुपैयाँ विनियोजन गरेका छन् । तर, यो मर्मत नहुन्जेलसम्म स्थानीयले जोखिम मोल्नै पर्ने देखिन्छ ।
अस्थायी समाधानका प्रयास
हात्तीको वितण्डा बढेपछि मेचीनगर नगरपालिका र स्थानीय प्रशासनले केही अल्पकालीन योजनाहरू अघि सारेका छन् । वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीका अनुसार सुरक्षाकर्मी, वन रक्षक र रेपिड रेस्पोन्स टिमको संयुक्त टोली परिचालन गरिएको छ ।
सर्वपक्षीय बैठकले साँझ ६ बजेपछि सीमा क्षेत्रमा सर्वसाधारणको आवतजावतमा रोक लगाएको छ। हात्ती खेदाउन ट्रयाक्टरको प्रयोग गर्ने र त्यसका लागि नगरपालिकाले इन्धन उपलब्ध गराउने निर्णय समेत भएको छ । यति मात्र होइन, बस्ती वरिपरि मौसमी तारबार लगाउने र माइकिङ गरेर सर्वसाधारणलाई सतर्क गराउने काम भइरहेको छ ।
कुटनीतिक पहलको खाँचो
बाहुनडाँगीमा हात्तीको यो समस्या नयाँ भने होइन । वर्षौँदेखि यहाँका बासिन्दाले यो नियति भोग्दै आएका छन् । मञ्चका पूर्वअध्यक्ष निरज घिमिरेको बुझाइमा यो समस्याको स्थायी समाधानका लागि नेपाल र भारत सरकारबीच उच्चस्तरीय वार्ता हुनु आवश्यक छ । “भारतीय जङ्गलबाट आउने हात्तीलाई त्यतै रोक्ने संयन्त्र नबनेसम्म हाम्रा किसानले कहिल्यै सुख पाउने छैनन्,” उहाँ भन्नुहुन्छ ।
अहिलेलाई भने बाहुनडाँगीबासीका लागि प्रत्येक रात एउटा युद्ध जस्तै बनेको छ – आफ्नो बाली र ज्यान जोगाउने युद्ध । जबसम्म सीमामा लगाइएको सौर्य तारबारले पुनः काम गर्दैन र हात्तीको बथान आफ्नै प्राकृतिक बासस्थानतर्फ फर्कदैन, तबसम्म बाहुनडाँगीको यो त्रास कायमै रहने देखिन्छ ।