निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से
काठमाडाैं, ८ चैत्र । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन पनि घटेकाे छ । गत मंगलबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार, नेप्से परिसूचक १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ५२ हजार ३१७ पटकको कारोबारमा ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको १ करोड ८५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
सर्वोत्तम सिमेन्टको शेयर निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत मंगलबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य, यस दिन ७३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ।
बिहीबार व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.६५ प्रतिशत बढेको छ।